प्रहरी नायव महानिरीक्षक पालबाट नवनिर्मित कार्यालय भवन उदघाटन


सिराहा, २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका-६ स्थित ईलाका प्रहरी कार्यालय गोलवजार, सिराहाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो । सो अवसरमा सोही कार्यालय परिसरमा नयाँ निर्माण हुने व्यारेक तथा भान्छाघरको समेत प्रहरी नायव महानिरीक्षक पालले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने समाजसेवी राम प्रसाद साह सुढीलाई सम्मानपत्र प्रदान तथा  भवन निर्माण कार्यमा उल्लेख्य सहयोग पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र बितरण  गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनको निर्माणले प्रहरी कर्मचारीहरुलाई आवास सम्बन्धि सुबिधाहरु प्राप्त हुनुकासाथै कार्यालय संचालन एवं प्रहरी परिचालन गर्नमा सहज भई प्रहरीबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपले समयमै सेवाग्राहीलाई प्रदान गर्न सकिने बताउनुभयो ।

समाजमा अपराधको नियन्त्रण, रोकथाम  एवं अपराध अनुसन्धान कार्यमा समुदाय तथा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले प्रहरी कार्यसँग सम्बन्धित सूचना समयमै उपलव्ध गराई समुदाय-प्रहरी साझेदारी अभियानलाई सार्थक बनाउन आग्रह समेत गर्नुभयो । महिला, बालवालिका र जेष्ठ नागरिक उपर हुने अपराधका घट्नाहरुमा संवेदनशिल हुन र सामाजिक विकृति विसंगतिको विरुद्ध एकजुट भई सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल प्रहरीले सबैखाले अपराध र भ्रष्टाचारका विरुद्धमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै आईरहेको हुँदा संगठनको नीति अनुरुप कार्य गर्न र सेवाग्राहीसँगको बोली व्यवहारमा आदर-सम्मान र शिष्टतापूर्वक प्रस्तुत भई कानुनी कठोरता अपनाउन उहाँले निर्देशन दिनुभयो ।

२०७२ सालमा स्थानिय समाजसेवी राम प्रसाद साह सुढीले प्रदान गर्नुभएको ९ कठ्ठा, १४ धुर जग्गामा नेपाल प्रहरीको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय गोलबजार, सिराहाको भवन निर्माण कार्य सम्पन्न भएको हो ।