राज्यमन्त्रीले नै गराइदिए १४ बर्षिया डोम किशोरीलाई बाल बिबाह


सुभेन्द्र दास लहान ,सिराहा ।
प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ बर्षिया किशोरीको विवाह गराएका हुन् । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा यही मंगलवार राति गराएका हुन् ।

आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका छन् ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च ब्यहोरेको बताए । सिरहा क्षेत्र नम्बर ५ बाट प्रदेश सभासदको चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन् । २० बर्ष भन्दा कम उमेरमा विवाह गराईदिनु कानुन विपरित हो ।

नियम कानुनको कार्यन्वयन गर्नु पर्ने मन्त्रीले कानुनको खिल्लि उडाउँदै वालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो , दलित अधिकारकर्मी तथा पुरान वामपन्थि नेता शिवकुमार महराले भने , ति वालिकाको विवाहमा गरेको खर्च उनको पढाईलेखाई वा कुनै शिपमुलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो । मन्त्रीको राजिनामा माग यसैवीच सिरहाका अधिकारकर्मीहरुले दलित वालिकाको विवाह गराईदिने राज्यमन्त्री मण्डलको राजिनामा माग गरेका छन् ।

अधिकारकर्मी बिनोद बिशुखेंले जानी जानीजानी वालविवाह गराईदिने मन्त्री मण्डलले तत्काल राजिनामा दिनु पर्ने बताए । बिशुखेंले भने , वालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ , गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजिनामा माग्नु पर्छ , र पार्टीले पनि उनलाई तत्काल कार्वाही गर्नु पर्छ ।

कारवाही हुन्छ: माहासचिव सुमन राज्यमन्त्री मण्डलले वालविवाह गराईदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष शुमनले बताए । यदि केटिको उमेर २० बर्ष नकटेको भए पार्टिले छानविन गरेर मण्डललाई कार्वाही गर्छ , यसमा सबैजना ढुक्क भए हुन्छ , सञ्चारकर्मीहरुसगँ कुरा गर्दै माहासचिव शुमनले बताए ।