विवाहको खर्च जोगाएर एसओएस वालग्रामलाई ५० हजार सहयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
आफ्नो विवाहको खर्च जोगाएर सोरु गाउँपालिका १० दैनाकोट मुगुका शंकु जैशीले एसओएस वालग्राम नेपाललाई ५० हजार रुपैयाँ उपलव्ध गराएका छन् । ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका ४ सिस्नेरी निवासी मन्दिरा तिम्सिनासंग जैशीको बैशाख ७ गते विवाह भएको थियो ।

‘सबै वालवालिकाको लागि मायालु घर’ मार्फत एसओएस वालग्राम नेपालले विगत ४५ वर्षेदेखि अभिभावक वीहिन वालवालिकाको संरक्षण गर्दै उनीहरुलाई उचित शिक्षादिक्षा दिँदै आएको छ ।

एसओएस वालग्राम सानोठिमीमा आयोजित एक कार्यक्रममा नवदुलाहा जैशीले ५० हजार रुपैयाँबराबरको चेक एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मालाई हस्तान्तरण गरेका थिए ।

एसअ‍ोएस वालग्राम नेपालको शिक्षा विभाग प्रमुख डा.गंगा गुरुंग तथा एसओएस वालग्राम सानोठिमीका निर्देशक खगेन्द्रप्रसाद नेपाललगायत वालग्रामका अधिकारीहरुको उपस्थितिमा जैशीले राष्ट्रिय निर्देशक शर्मालाई सो चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा जैशीकी नवदुलही मन्दिरा तिम्सिना जैशी पनि सहभागी थिइन् ।


कुनै समय एसओएस वालग्राम पोखरा र इटहरीको आर्थिक सहयोगमा स्नातक अध्ययन सकेका जैशीले आफ्नो विवाह खर्च जोगाएर सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

रिसर्च सेन्टर फर डेभेलप्मेण्ट स्टडीजका कार्यकारी अध्यक्ष समेत रहेका जैशीका दुई दाजु एसओएस वालग्राम इटहरीमा हुर्केका थिए भने जैशी भने त्यतिखेर वालश्रमिकको रुपमा संघर्ष गर्दै थिए । एसओएस वालग्रामको आर्थिक सहयोगमा स्नातकसम्म पढेका उनले पछि कोरियाबाट स्नातकोत्तर सकेका थिए ।
भगवती