नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा

0
Shares

कविरस शर्मा, बाँके
गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेबारी दिइएको छ । योसंगै २०७७ फागुन २० देखि २७ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशले आयोजना गर्ने तय भयो । गण्डकी प्रदेशले विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी उक्त जिम्मा लिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्कोे बुधबार बसेको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि गण्डकी प्रदेशलाई जिम्मेवार िदिएको हो । यसअघि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश ५ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो । राष्ट्रिय खेलकुद हरेक २ वर्षको अन्तरालमा हुने गरेको छ ।


बुधवार उपराष्ट्रपति नन्दबहादुर पुनले आठौंको समापन गरेसँगै नवौं परिषदका सदस्य सचिव केशव कुमार विष्टले नवौं संस्करण आयोजनाका लागि गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र राष्ट्रिय खेलकूद परिषदका केन्द्रिय सदस्य राजेश गुरुङ्गलाई झन्डा हस्तान्तरण गरिएको थियो । त्यसअघि उक्त झन्डा राखेप विभागीय प्रमुख कुल बहादुर थापाले आठौंको झन्डा अवतरण गरी राखेप सदस्य सचिवलाई झन्डा हस्तान्तरण गरेका थिए ।


आठौं राष्ट्रिय खेलकुद सम्पन्न
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बुधवार भएको छ । गत बैसाख ५ गते औपचारिक रुपमा उद्घघाटन भएको प्रतियोगिताका सबै खेल बुधवार सम्पन्न भएको हो । नेपालगन्ज रंगशालामा प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसक्ने भएपछि उपराष्ट्रपतिलाई समापनमा बोलाइएको थियो ।

पुरुष फुटबलमा आर्मी विजयी
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली आर्मी विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
आर्मीको जितका लागि विकास तामाङले खेलको एकमात्र निर्णायक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा विकासले गरेको गोल नै खेलको निर्णायक सावित बनेको थियो । कप्तान भरत खवासको फ्रिकिक प्रहारमा पाएको बल विकास खवासले हेडमार्फत् तामाङतिर सप्लाई गरेका थिए । जसलाई तामाङले क्लोज रेन्जबाट उत्कृष्ट हेडर गोल गरे ।

एपीएफलाई क्रिकेटको उपाधी
आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ एपीएफले उपाधि जितेको छ ।

बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधवार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले स्वर्ण जित्यो । महिला क्रिकेटमा पनि एपीएफले नै स्वर्ण हासिल गरेको थियो ।

कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा १ सय १० रन जोडेको थियो । टिमका लागि अनिल साहल४ चौकाको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यस्तै शंकर रानाले २३ रन बनाएका थिए । अन्य भने चल्न सकेनन् । पुलिसका ललित नारायण राजवंशीले ३ विकेट लिए भने सागर ढकालले २ विकेट हासिल गरेका थिए ।

१ सय ११ रनको मध्यम लक्ष्य पुलिसले पछ्याउन सकेन । टोली ७८ रनमै अलआउट हुन पुगेको थियो । ओपनर ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोड्नु नै सर्वाधिक व्यक्तिगत योगदान सावित भएको थियो ।

भलिबलमा पुलिस र एपीएफ च्याम्पियन
आठौंअन्तर्गत भलिबलतर्फ नेपाल पुलिस क्लबले पुरुषमा र नेपाल एपीएफ क्लबले महिलामा स्वर्ण पदक जितेका छन् ।

पुरुष फाईनल खेलमा पुलिसले अर्को विभागिय क्लब आर्मीलाई २५–१८, २३–२५, २५–२० र २५–१८ को सेटमा हरायो । महिला फाइनल खेलमा एपीएफले प्रदेश ३ लाई २५–११, २५–१३ र २५–१९ को सोझो सेटमा पन्छाएको थियो ।

पुरुषतर्फ कुलवहादुर थापा र महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए । दुबै उत्कृष्टलाई लक्ष्मीनारायण श्रेष्ठ स्मृति भलिबल अवार्डले सम्मानित गरियो । यसको नगद पुरस्कार १०÷१० हजार रहेको छ । प्रतियोगितामा महिलातर्फ पुलिस र पुरुषतर्फ एपीएफले कास्य जितेका थिए ।

गौरिका गोल्डेन गर्ल
नेपालगन्जमा बुधबार सम्पन्न आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत व्यक्तिगततर्फ गौरिका सिंहले सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान रचेकी छन् ।

गौरिकाले महिला पौडीतर्फ सहभागि सबै १२ स्पर्धामा स्वर्ण जितेकी हुन् । यससँगैं नेपालकी जलपरी भनेर उपनाम पाएकी गौरिकाले २२औँ राष्ट्रिय पौडीमा वर्चश्व बनाइन् । पहिलो र दोस्रो दिन २÷२ स्वर्ण जितेकी गौरिकाले तेस्रो र चौथो दिन ४÷४ स्वर्ण हात पारेकी थिइन् ।

राष्ट्रिय खेलकुदको एकै संस्करणमा सहभागिता जनाएको सबै इभेन्टमा स्वर्ण जित्दै गौरिकाले गोल्डेन छवि कायम गरिन्। उनले तीन विधामा आफैले बनाएको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । €