प्रधानाध्यापक नियुक्तिमा संचालक समितिले किर्ते गरेको आरोप


काठमाण्डौ, (नेस) ।
काठमाडौको वानेश्वरमा रहेको रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक (प्रअ) नियुक्त गरेको भन्दै विरोध जनाइएको छ ।

विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वेवास्ता गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौथो वरियातामा रहेका जिवनप्रकाश शर्मालाई निमित्त प्रधानध्यापक बनाएपछि सञ्चालक समितिको विरोध भएको छ ।

असन्तुष्ट पक्षले आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै सञ्चालक समितिले मनपरी गरेको भन्दै पर्दाफास गरेको हो । प्रधानाध्यापक गिता खरेल उमेरहदका कारण सेवानिवृत्त भएपछि समितिले नियमावलीविपरित निमित्त प्रअनियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाडौ महानगरपालिकाले आफूलाई निमित्त प्रअको चिठी दिइसकेको र सोही चिठीअनुसार महानगरको १० नम्बर वडाले समेत कार्यान्वयन गराउन खोज्दा शर्मा पक्षधर समितिले मनलाग्दी गरेको आरोप लगाउनुभयो । महानगर र वडाले नियमअनुसार नै खड्कालाई निमित्त प्रअ बनाएको १० नम्बरका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिनुभयो । यता महानगरकी शिक्षा अधिकारी निर्मला केसीले खड्कालाई निमित्त प्रअ बन्नका लागि आवश्यक सबै मापदण्ड र पुगेको पाइएको भन्दै १० नम्बर वडालाई पत्र पठाउनुभएको थियो ।

स्थानीय निकायले गरेको निर्णयसमेत समितिले लागू गर्न नदिएकोमा वडाध्यक्ष केसीले आक्रोष व्यक्त गर्नुभएको छ । वडाध्यक्ष केसीले महानगरको शिक्षा ऐन केही फरक भएकाले कानुनविद्सँग थप छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । वडाध्यक्ष केसीले समितिले किर्ते हस्ताक्षर प्रयोग गरेर चौथो वरियताका शिक्षक शर्मालाई निमित्त प्रअ बनाएको पनि खुलासा गर्नुभयो ।

समितिको बैठकमा २ वटा निर्णयका लागि प्रस्ताव तयार पारेर हस्ताक्षर गर्न लगाएको तर पछि ५ वटा निर्णय गरिएको केसीले बताउनुभयो । शर्मालाई निमित्त प्रअ बनाउने निर्णयमा आफूले हस्ताक्षर नगरेको केसीले दावी गर्नुभयो ।