‘जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी, अनभिज्ञ पैदलयात्रु        


बाँके,  गाउँहरु शहरोन्मुख भइरहेका छन् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । टोल गाउँ बनेका छन्, गाउँ शहर बनेका छन् तर यातायात, सडक, खानेपानीलगायतका भौतिक पूर्वाधार क्षेत्र सोअनुसार वृद्धि हुन सकेको छैन । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने पक्कै देखिन थालेको छ् ।

गाउँका धुलाम्ये सडक ग्राभेल बन्न थालेका छन्, शहरका ग्राभेल सडक कालोपत्रे बन्न थालेका छन्, साँघुरा सडक चौडा भएका छन् । यातायातका साधनको वृद्धिदर ह्वात्तै बढेको छ । पैदल हिँड्ने साइकल चढ्न थालेका छन्, मोटरसाइकल चढ्ने कारमा चढ्न थालेका छन् । जसले सवारी साधनको सङ्ख्या ह्वात्तै बढाएको छ ।

नेपालगञ्ज, कोहलपुर, खजुरा क्षेत्रमा भइरहेको तीव्र विकास र जनसङ्ख्याको अनियन्त्रित वृद्धिसँगै बढ्दो सवारी साधनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिन थालेको छ । योसँगै सडकमा पैदलयात्रुका लागि जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । विभिन्न सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई बाटो काट्न समस्या भएको छ ।

अझ नेपालगञ्ज र कोहलपुर क्षेत्रमा जेब्रा क्रसिङको आवश्यकता बढी रहेको देखिन्छ । पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौक २४ सैँ घण्टा व्यस्त रहन्छ । त्योसँगै कोहलपुर–नेपालगञ्ज खण्ड पनि उत्तिकै व्यस्त सडक छन् । सडकमा तीव्र गतिमा सवारी साधन हुँइकिरहेका हुन्छन् । जसकारण दुर्घटनाको जोखिम उच्च छ ।

यिनै व्यस्त सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले यसका लागि पहल थालेको छ । वर्षौंदेखि जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जेब्रा क्रसिङ बनाउने दायित्व आफूहरुको नभए पनि दुर्घटनाको जोखिम कम गर्न पहल थालेको बताउनुभयो ।

ट्राफिक प्रहरीले पैदलयात्रुको सहजताका लागि कोहलपुर चौकमा जेब्रा क्रसिङ बनाएको छ भने अन्य पैदलयात्रुको चाप रहने स्थानमा पनि जेब्रा क्रसिङ बनाउने जनाएको छ । “पहिले भएका कतिपय जेब्रा क्रसिङको रङ्ग उडेको छ । यसमा पुनः रङ्ग लगाउने र अन्य आवश्यक स्थानमा जेब्रा क्रसिङ बनाउँछौँ”, प्रहरी निरीक्षक रोकाले भन्नुभयो ।

उहाँले यात्रु र सवारी आवागमनका लागि सहज होस् भन्ने हेतुले ट्राफिक प्रहरी आफैँले जेब्रा क्रसिङ व्यवस्थित गर्न लागेको बताउनुभयो । “सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ रहे पनि अहिले केही नदेखिने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “सवारी र पैदलयात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ व्यवस्थित गर्न लागेका छौं ।”

सडकमा जेब्राक्रस बनाएर मात्र दुर्घटना पूर्णरुपमा नरोकिने बताउँदै प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “सवारी साधन र पैदलयात्रु दुवैले जेब्राक्रसको ख्याल गर्नुपर्छ ।” धेरैजसो सवारी साधन र पैदलयात्रुले जेब्राक्रसलाई ख्याल नगर्ने भएकाले सडक दुर्घटनाको जोखिम बढ्ने गरेको उहाँको भनाई छ ।

“ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारण सतर्क हुनुपर्छ । ट्राफिकले मात्र सवारी दुर्घटनाको न्यूनीकरण रोक्न सक्दैन”, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “सवारीअनुसार ट्राफिक प्रहरी अभाव भए पनि हामीले दैनिकजसो सवारी सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । यसले पनि सर्वसाधारणमा केही सचेतना बढेको छ ।”

अनभिज्ञ पैदलयात्रु

सवारीको गति कम गर्न र पैदलयात्रुलाई सहज बनाउन बजारका सडकमा कोरिएका सेता धर्सारुका बारेमा कतिपय सर्वसाधारण भने अनभिज्ञ देखिन्छन् । अनभिज्ञता कै कारण पैदलयात्रुदेखि सवारी चालकसम्मले त्यसको ख्याल गरेको पाइँदैन । सवारीले पेल्न खोज्ने र पैदलयात्रु यत्रतत्र बाटो काट्ने गरिरहेका हुन्छन् ।

जेब्राक्रस नजिकै भए पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने पैदलयात्रु र जेब्राक्रस भएको ठाउँमा सवारीको गति कम नगर्ने चालकका कारण जेब्राक्रस प्रभावकारी बन्न नसकेको प्रहरी निरीक्षक रोकाय बताउनुभयो । “सर्वसाधारणलाई जेब्राक्रकका बारेमा जानकारी नहुँदा प्रयोग गर्ने बानी छैन । जसकारण दुर्घटना निम्तिने खतरा बढी हुन्छ”, उहाँले भन्नुभयो ।

सवारी चालक भने कहाँ जेब्राक्रस छ भन्ने नै हेक्का पाउँदैनन् । नेपालगञ्ज–बुटवल रुटका बसका चालक प्रदीप गुरुङका अनुसार जेब्राक्रस धेरैतिर बनिरहेको हुन्छ । सबैतिर ख्याल गर्नै सकिँदैन ।

कहिलेकाहीँ मुख्य चोकको जेब्राक्रसको पनि ख्याल नहुने उहाँ बताउनुहुन्छ । “कुनै समयमा जेबक्रस टाढैबाट देखिन्छ भने प्रायः समयमा जेब्राक्रस नै चिन्न नसक्ने अवस्थामा हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यही भएर जेब्राक्रसको बारेमा धरै चालकलाई ख्याल हुन छाडेको छ । पैदलयात्रुले पनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने भएकाले पनि यसको वास्ता हुन छाडेको हो ।”

बस चालक प्रदीपले भनेजस्तै पैदलयात्रुमा पनि जेब्राक्रसप्रति कुनै संवेदनशीलता देखिँदैन । नजिकै जेब्राक्रस हुँदाहुँदै जहाँ पायो त्यहीँबाट बाटो काट्ने यात्रु धेरै हुन्छन् । पैदलयात्रुलाई जेब्राक्रस भएको स्थानसम्म पुग्न झन्झट हुने भएकाले मनपरि बाटो काटिरहेका हुन्छन् । त्यसले पनि सडक दुर्घटनाको जोखिम बढाइरहेको ट्राफिक प्रहरीको बुझाइ छ ।
रासस