रिना बस्नेत प्रकरण : प्रहरी र स्थानीयबीच झडप

0
Shares

काठमाडाैं । मोरङको पथरीमा रिना बस्नेतको मृत्युपछि स्थानीय प्रदर्शनमा उत्रेका छन् । रिनाको मृत्यु नभइ बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । आक्रोशित बासिन्दाले घटनाको छानविन माग गर्दै पथरी बजारसहित पूर्वपश्चिम राजमार्ग बन्द गर्दा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

आक्रोशित बासिन्दाले नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । स्थानीयले मंगलबार नगरपालिकामा ताला लगाएर आन्दोलन थालेका हुन् ।शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटसमेत तोडफोड गरी नाराबाजीमा उत्रेका छन् ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले संघर्ष समिति गठन गरेका थिए ।

के हो घटना ?

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा विभत्स अवस्थामा रिनाको शव भेटिएको थियो । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा काेठा अगाडि शव भेटिएको थियो ।

शुक्रबार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी रिना राति घर फर्किएकी थिइन् ।

प्रहरीका अनुसार रिना राति मदिरा सेवन गरेर फर्किएकी थिइन् । बिहान उनको शव नग्न अवस्थामा काेठा नजिक भेटिएको थियो ।

स्थानीयले रिनाकाे मृत्यु नभइ कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने बताउँदै आएका छन् ।
वैदेशिक रोजगारीमा रहेका रिनाका श्रीमान घटना लगत्तै आइतबार घर फर्किसेकेका छन् । रिना एक छोरासँग काेठामा बस्दै आएकी थिइन् ।