मन्दिरमा पाठीको बली, महिलालाई प्रवेश निषेध

0
Shares

सलिम अन्सारी, प्युठान
असोज र चैतमा हिन्दुहरुले मनाउने रामनवमी पर्वको अबधी भर प्युठानको झिमरुक–८ टिमुरचौरस्थित स्नाथान मन्दिरमा दर्शन गर्न दलित समुदाय र महिलालाई निषेध छ । सो अबधीमा दलित र महिला भक्तजनले बाहिरबाटै पूजार्चना गरेर फर्किनुपर्छ ।

मन्दिर प्रवेश गरे अशुभ हुन्छ भन्ने गलत मान्यताका कारण उनिहरु मन्दिर प्रवेश गर्दैनन् । यतीसम्म की मन्दिरको आसपासमा समेत टेक्न उनिहरुलाई मनाही छ । पहिलैदेखि पुजारी र स्थानीय गैरदलित समुदायले बारम्बार दलित र महिलाहरु मन्दिर प्रवेश गरे राम्रो नहुने बताएपछि आफुहरु जान आँट नगरेको उनिहरु बताउछन् । तिमीहरु जान हुन्न अशुभ हुन्छ भनेपछि आफूहरु मन्दिरमा पूजापाठ गर्न नगएको स्थानीय प्रतिमान विकले बताउनुभयो । ‘अशुभ हुन्छ भन्छन्’, उहाँले भन्नुभयो– ‘बाउबाजेकै पालादेखि हामी त्यो ठाउँमा गएका छैनौ।’

मुख्य मन्दिरको भित्री भागमा पुजारीबाहेकका अन्यलाई प्रवेश निषेध छ । देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता छ । परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिला एवं दलितले सो अवधिभर भित्र पस्ने आँट नगरेको वडाअध्यक्ष तुलस बस्नेतले बताउनुभयो ।
‘हामीले जाऊँ भने पनि उहाँहरु आफैं डराउनुहुन्छ’, उहाँले भन्नुभयो– ‘तरभित्र जान्छौँ भन्नेहरुलाई कसैले रोकछेक गर्दैन ।’ उहाँहरु स्वेच्छाले जानुहुन्न । असोज र चैतको रामनवमीमा यहाँ बलि दिने प्रथा छ । जसमा कालोपाठी अनिवार्य छ । वर्षका दुई दिन पञ्चपुजारीद्वारा बलि दिने गरिन्छ ।

त्यहाँ पाठीको वली चढायो भने मनको इच्छा पुरा हुने विश्वास गरिन्छ । सोही आस्थाका कारण प्युठानसहित छिमेकी दाङ, गुल्मी, कपिलवस्तु, रोल्पा लगायतका जिल्लाबाट यहाँ बलिका लागि आउँछन । असोज र चैतको रामनवमीमा यहाँ ३ सय पाठीलाई बलि दिने गरिएको छ । यहाँ फरक प्रकृतिको प्रचलन देख्न पाइन्छ । बलि दिएको पाठीको मासु महिलाले खान नहुने । काटिएको मासु घर लान नमिल्ने परम्परा पनि छ । यदि मासु घर लगेमा अशुभ हुने जनविश्वास रहेकाले पोलेर मात्रै खाने प्रचलनले गर्दा बलिको मासु नष्ट हुँदै गएको छ । बलि दिने क्रममा पुजारीहरुको हातले सिलाएको वस्त्र मात्रै प्रयोग गर्न पाउने अर्को परम्परा पनि यहाँ पाइन्छ ।

राम नवमीमा महिला र दलितलाई मन्दिर प्रवेशमा रोक लगाईनुलाई दलित अधिकारकर्मी गोपाल नेपाली धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा बताउँदै यस्को विरोध गर्नुपर्ने बताउनुहुन्छ ।

पर्यटन प्रबर्द्धनका हिसावले महत्वपूर्ण स्थल स्नाथानबाट दिहाल्ना, लालीगुराँस रगंशाला तथा नेपालका महत्वपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । संरचना निर्माणको अभाव खेपिरहेको स्नाथानलाई पर्यटकीय क्षेत्र बनाउने थप पहल भइरहेको गाउपालिका अध्यक्ष तिलक जिसीले बताउनुभयो।’ यसको प्रबर्द्धन गर्न डीपीआर गर्ने तयारी भइरहेको छ’ –उहाँले भन्नुभयो।

https://youtu.be/DXkN7qOf9Cc