भन्सार छली लैजान लागेको सुनसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको करिब १ हजार ६ सय ८३ ग्राम सुनसहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा थाइल्यान्डबाट काठमाडौं आएका कम्बोडियाका राहदानी नम्बर एन ००८३६२९८ वाहक ४५ वर्षीया थेवी उई र भियतनामका राहदानी नम्बर बि ४१६७३५४ वाहक ६९ वर्षीया भोथी नुओइ रहेका छन् । कम्बोडियन नागरिकका साथबाट ९ सय ३५ ग्राम र भियतनामीको साथबाट ७ सय ४८ ग्राम सुन प्रहरीले बरामद गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब २ सय ९० ग्राम सुनको सिक्री ५ थानसहित धादिङ, धुनिबेंसी घर भई काभ्रे गोकुले–१ बस्ने ३५ वर्षीया मुना श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।