अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैं । नेपालमा आयोजना भएको २ दिने अंग प्रत्यारोपण सम्मेलन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा वैशाख ७ र ८ गते काठमाडौंमा ‘ब्रिडिङ द ग्याप’ भन्ने मूल नाराका साथ प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन २०१९ भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अंग प्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै गइरहेको बताउनुभयो । अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दोसमेत देखिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । साथै राज्यमन्त्री यादवले मिर्गौला प्रत्यारोपण क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि गौरव गर्न लायक भएको बताउनुभयो ।

उहाँले नेपालमा चिकित्सक तथा स्वास्थ्य क्षेत्रसँग आबद्ध सबै महानुभावलाई बधाई दिनुका साथै कार्यक्रमको सफलताको शुभकामनासमेत दिनुभयो ।
सोही अवसरमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले अंग प्रत्यारोपण क्षेत्रमा राज्यले गरेको लगानी अनुरुप प्रतिफलसमेत सकारात्मक पाइएको बताउनुभयो । उहाँले मिर्गौलाको प्रत्यारोपण र उपचारका लागि राज्यले अनुदान दिइरहेको भन्दै नेपालको उपचार एकदमै प्रभावकारी रहेको बताउनुभयो । सम्मेलन आयोजक समितिका संयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नवीनतम प्रविधि, ज्ञान सीपको आदानप्रदान गर्न सम्मेलन सहयोगी हुने बताउनुभयो ।

उहाँले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको भन्दे सम्मेलनले अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रस्तुत कार्यपत्र अनुसार हालसम्म ६ वर्षको अवधिमा ९९ प्रतिशत सफलताका साथ ६ सय १ जनाको मिर्गौला प्रत्यारोपण र नेपालमै पहिलोपटक ४ जनाको कलेजो प्रत्यारोपण तथा ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको जानकारी गराइएको थियो ।

कार्यकमको समापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गर्नुभएको थियो । समापन समारोहमा बोल्नुहुँदै उहाँले नेपालले अंग प्रत्यारोपण क्षेत्रमा प्रगति गरिरहेकोमा खुसी व्यक्त गर्नुका साथै सराहना गर्नुभयो । साथै उहाँले प्रत्यारोपण क्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी गराउनुभयो ।