सेनाद्वारा आयोजित स्वास्थ्य शिविर सम्पन्न

0
Shares

काठमाडौँ, (नेस)
मध्य पश्चिम पृतना हेडक्वार्टरद्वारा यही वैशाख ४ गतेदेखि ८ गतेसम्म रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा आयोजना गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रदेश सरकार (प्रदेश नं.५) सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार तथा बिभिन्न सामाजिक संघ संस्था एवं उद्योगी, व्यवसायीहरुसँगको सहकार्यमा आयोजित उक्त शिविरको उद्घाटन प्रदेश नं.५ का प्रदेश प्रमुख उमाकान्त झाले गर्नुभएको थियो भने मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सिताराम खड्काले समापन गर्नुभएको थियो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रही प्रभावकारी चिकित्सा सेवाको पहुँच पुग्न नसकेका रुपन्देहीका कोटहिमाई, सम्मरीमाई र मर्चावारी गाउँपालिकालगायत आसपासका बासिन्दा उक्त शिविरबाट लाभान्वित भएका थिए ।

डेन्टल सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवासहित आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६८ जनाको सफल शल्यक्रिया हुनुको साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका करिव सात हजार स्थानीय बासिन्दा लाभान्वित भएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त शिविर समापन समारोहको अवसरमा सेनाद्धारा मर्चवार आदर्श उच्च माध्यमिक बिद्यालयको हाताभित्र विभिन्न जातका करिव दुईसय एकवटा बोटबिरुवा रोपण गरिएको जनाइएको छ ।

प्रधानसेनापति थापाले शिविरको निरीक्षण भ्रमण गरी बिरामीसम्बन्धी जानकारी लिनुका साथै अन्तरक्रिया गर्नुभएको थियो ।

यसैबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र जर्जियाका गैरआवसीय राजदूत अर्चिल डजुलियासिभिलीबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत डजुलियासिभिलीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

त्यसै गरी प्रधानसेनापतिले चितवनको कसरास्थित बटुकदल गण हे.क्वा. तथा अन्तर्गत सुरक्षा पोष्टहरुको निरीक्षण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो ।