घूस लिने १९ जनाविरुद्ध मुद्दा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले चालु आर्थिक वर्षको आठ महिना अवधिमा घुस रकम लिँदै गरेको अबस्थामा १९ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म अख्तियारले स्टिङ अपरेसन गरेर १९ जनालाई पक्राउ गरेको हो । अख्तियारको हेटौंडा कार्यालयअन्तर्गत् जिल्लामा सेवाग्राहीको काम मिलाइदिने बहानामा घुस मागेपछि अख्तियारले रकम फोटोकपी गरेर घुस रकम बुझाउने क्रममा रंगेहात पक्राउ गर्न सफल भएको हो ।

कुनै सरकारी कर्मचारीले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा घुस रकम लिँदै गरेको अबस्थामा १९ जनालाई पक्राउ गर्न सफल भएको अख्तियार हेटौंडा कार्यालयका सूचना अधिकारी देवकुमार राईले बताउनुभयो ।
अख्तियारले पक्राउ गरेकामा कार्यालय सहयोगीदेखि, खरिदार, नायब सुब्बा, अधिकृत, सई, नापी अधिकृत, डिभिजन बन अधिकृतलगायत छन् ।

सबभन्दा बढी बारा, पर्साबाट घुस रकम लिँदै गरेको अबस्थामा पक्राउ गरिएको राईले जानकारी दिनुभयो । घुस रकम लिँदै गरेको अबस्थामा पर्सा, बारा, मकवानपुर, रौतहट, भैरहवा, चितवन जिल्लाबाट १९ जनालाई १३ वटा स्टिङ अपरेसनमार्फत् पक्राउ गरिएको अख्यिारको हेटौंडा कार्यालयले जनाएको छ ।
अख्तियारको कार्यालयले १ हजार ५ सय रुपियाँदेखि २४ लाख २२ हजार रुपियाँ घुस रकम लिँदै गरेको अबस्थामा पक्राउ गरेको हो ।

घुस दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ । अख्तियार हेटौंडा कार्यालयले प्रदेश–२ को बारा र पर्सा तथा प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक नौं जिल्ला हेर्दै आएको छ ।