वन विनाश रोक्न माग

0
Shares

दैलेख, (नेस)
दैलेख जिल्लाका नागरिक समाजले वातावरण संरक्षणको माग राख्दै कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमवार नागरिक समाज दैलेखका संयोजक खड्गबहादुर सिजापती सहितको टोलीले डिभिजन वन कार्यालय दैलेखमार्फत कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा कर्णाली प्रदेशको प्राकृतिक वातावरणलाई संरक्षण तर्फ ठोस योजना बनाई कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।

संयोजक सिजापती, सहिद मायाराम प्रतिष्ठान दैलेखका अध्यक्ष टेक बहादुर खाण, सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापा, पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी लगाएतका नागरिक समाजका पदाधिकारीहरुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘प्राकृतिक वातावरण मासियो या नासियो भने पर्यावरण पनि सकिन्छ ।’ ज्ञापन पत्र मार्फत प्राकृतिक वातावरण प्रतिकुलता हुने गरि विकास कार्यक्रमहरु गर्न प्रदेश सरकारसंग माग गरिएको छ । ज्ञापन पत्रमा महाभारत श्रृखलामा पर्ने रानीमत्ताको वन क्षेत्र फडानी र विनास गरि वन क्षेत्रको जग्गा अतिक्रमण तथा जथाभावी उत्खनन् भईरहेको उल्लेख गरिएको छ ।

‘रानीमत्ता जस्तै अतिक्रमणमा परेका र उस्तै जोखिममा परेका दैलेखको उम, कट्टी, कचाली हुँदै तीनचुले लेकसम्मको वन जंगलको संरक्षणको निम्ति विस्तृत अध्ययन तथा अनुसन्धान गरि विस्तृत कार्ययोजना बनाई प्रदेश योजना आयोगको सहयोग लिएर ठोस कार्य अघि बढाउन कर्णाली प्रदेशको ध्यानाकर्षण गराउँछौ,’ ज्ञापन पत्रमा भनिएको छ ‘कर्णाली प्रदेश भरिका वन विनाश र जग्गा अतिक्रमण रोक्नुपर्छ ।’ प्रदेश सरकारले नागरिकको व्यापक सहभागिता गराई स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा वन जंगल, बन्यजन्तु, जडिबुटी र प्राकृतिक अस्तित्वलाई मौलिक रुपमा जोगाई राख्न ज्ञापन पत्र मार्फत कर्णाली प्रदेशको ध्यानाकर्षण गराईएको छ ।