फडेरा आयोग भित्र, घुमुवा प्रहरी बाहिर

0
Shares

नेपाल समाचारपत्र, बाँके
विष्फोटक पदार्थ मुद्दाको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता भनिएका दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा ग¥यो । रिहा गर्ने आदेश हुने बित्तिकै प्रहरी अदालतमा पुगे ।

अदालत परिसरबाटै पुनः पक्राउ गर्ने तयारी भयो । अदालतका कर्मचारीले त्यसको विरोध गरे । अदालत परिसरबाट बाहिर निस्केपछि पक्राउ गर्न प्रहरी तयारी अवस्थामा बस्यो । फडेरालाई प्रहरीले पुनः पक्राउ गर्ने निश्चित नै भएपछि उनकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा फोन गरिन् । आयोगबाट अधिकृत बसन्त अधिकारी र सन्तोष चन्द अनुगमनमा अदालत पुगे । फडेराले आयोगका कर्मचारीको पिछा छोडेनन् । उनी आयोगका अधिकारीसँगै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयमा पुगे ।

फडेरा आयोगको कार्यालयमा बसेपछि प्रहरीेले रातभरी नै आयोगको कार्यालयलाई निगरानीमा राख्यो । सादा पोशाकका प्रहरीले आयोगको कार्यालय घेरेर बसे । आयोग नेपालगञ्ज कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईका अनुसार, राती १०.३० बजे इलाका प्रहरी कार्यालय, कोहलपुर इन्चार्ज डिएसपी रमेशबहादुर सिंहको टोली आयोगको कार्यालयमा आइपुग्यो । सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएर भित्र पस्ने कोसिस गरे ।

प्रहरीले आयोगको कार्यालयलाई घेरेर बसेको जानकारी केन्द्रीय कार्यालयसम्म पुगेको छ । यहाँका अधिकारकर्मीहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आयोगको कार्यालय घेराउ गर्ने प्रहरीको गतिविधिप्रति निन्दा गरेका छन् । इन्सेकका भोला महतले अदालतको आदेशको सबैले पालना गर्नुपर्ने र प्रहरीले आयोगको कार्यालय घेराउ गर्नु आपत्तिजनक कुरा भएको बताए ।

सोमबार पनि फडेरा आयोगको कार्यालयमै बसेका छन् । आयोग नेपालगञ्जका प्रमुख चापागाईले केन्द्रीय कार्यालयबाट आउने आदेश अनुरुप अगाडिको कार्य हुने बताए । प्रहरीले सोमबार पनि आयोगको वरिपरि सादा पोशाकमा घुमुवालाई खटाएको छ । आयोगको कार्यालय नजिकै घुमुवा प्रहरी डिउटी दिएर बसेका छन् ।