मौसम परिवर्तनले बिरामी बढे

0
Shares

बैतडी, (नेस)
मौसममा आएको परिवर्तनसंगै बैतडीका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका हेल्थ असिष्टेन्ट खेमराज भट्टले जानकारी दिनुभयो ।

मौसमी ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका बिरामीको संख्या बढेको उहाँले बताउनुभयो । यी रोगबाट अन्यको तुलनामा बालबालिकाहरु बढी प्रभावित भएको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक एकसयको हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिनुभयो ।

यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले जानकारी दिनुभयो । पहिलाको तुलनामा आजभोली ज्वरो, झाडापाखाला लगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उहाँले बताउनुभयो । मेलौली नगरपालिकाले औषधिका लागि टेण्डर आह्वान गर्न नसक्दा औषधिको अभाव भएको दयालले बताउनुभयो । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निशुल्क रुपमा वितरण गर्ने भएपनि आधा औषधि पनि नभएको उहाँले बताउनुभयो ।

केन्द्रमा औषधि नहुँदा बिरामीहरु मर्कामा परेका छन् । मौसम परिवर्तन भएसंगै स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने भएकाले खानपीनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाईमा रहनुपर्ने कुरामा ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।