शिक्षक विद्यार्थी दुवै आन्दोलित

0
Shares

महेन्द्रनगर, (नेस)
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख खेमलाल घिमिरे बिरुद्ध विद्यार्थी संगठन आन्दोलित भएका छन् । क्याम्पसमा रहेका विद्यार्थी संगठनहरु एकबद्ध भएर क्यापस प्रमुखका पछिल्ला गतिबिधिको बिरोधमा आन्दोलनमा होमिन थालेका हुन ।

तत्कालिन एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी तथा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठन संयुक्त रुपमा क्यापस प्रमुखका बिरुद्ध खनिएका छन् । बेला बेलामा विभिन्न माग राखि क्याम्पस प्रमुख तथा प्रशासनको ध्यानाकर्षण गराउँदा पनि आफूहरुका माग सम्बोधनमा कुनै तदारुकता नदेखाउँदा आन्दोलनमा उत्रिनु परेका संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

विद्यार्थीलाई कुनै जानकारी नै नगराई क्यामपसको आन्तरिक विषयबस्तुका कारण प्राध्यापकहरुले नियमित अध्यापन कार्यलाई सुचारु नगर्दा विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थी संगठनले क्याम्पसको आन्तरिक समस्या समाधान गरेर नियमित अध्यापन गराउनुपर्ने माग राखेर मौखिक तथा लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुख घिमिरेले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएकाले आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी संगठनका विद्यार्थी नेता लोकेन्द्र भण्डारीले बताए ।

स्नातक तहको परीक्षाको पूर्व–सन्ध्यामा अतिरिक्त कक्षा सञ्चालन गर्नुको साटो प्राध्यापकहरुले आन्तरिक समस्याका कारण अध्यापन नै गराउन छाडेपछि बैशाख ०८ मा विद्यार्थी संगठनले क्यापस प्रमुखलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । तर उक्त समयमा क्यापस प्रमुखले समस्या समाधानमा कुनै चासो नै नदेखाएपछि आन्दोलनमा जान बाध्य भएको अनेरास्ववियुका विद्यार्थी नेता सरोज भण्डारीले बताए । क्याम्पसको आन्तरिक समस्या समाधान गरेर नियमित रुपमा पठन पाठन सुचारु हुनु पर्ने संयुक्त विद्यार्थी संगठनको माग रहेको छ । आफू विद्यार्थीहरुको मागप्रति सकारात्मक रहेको बताउँदै क्याम्पस प्रमुख घिमिरेले वार्तामा बसेर समस्या समाधान गर्न तयार रहेको बताए ।

क्याम्पस प्रमुख खेमलाल घिमिरे बिरुद्ध खनिएका विद्यार्थी संगठनले सोमवार उनको कुर्सी जलाएका छन् । बेला बेलामा विभिन्न माग राखेर क्याम्पसको शैक्षिक स्तर उकास्नका लागि ध्यानाकर्षण गराउँदा पनि क्यापस प्रमुख तथा प्रशासनले आफूहरुको माग कुल्चेर आलटाले व्यवहार देखाएकाले प्रमुखको कुर्सी जलाइएको अखिल क्रान्तिकारी नेता दल बहादुर धामीले बताए ।