पुण्य कमाउने नाममा वालविवाह

0
Shares

विमल विष्ट, डोटी
विवाहका लागि कानुनी उमेर १८ बर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महिनावारी हुनु भन्दा अगाडी नै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुने अर्थात धर्म कमाईने भन्ने धार्मीक अन्ध विश्वासले बाल विवाह को प्रचलन कायमै रहेको दिपायलका स्थानिय उत्तम द्धारीयाले बताउनुभयो ।

यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा प्रायजसो ब्राहमण, क्षत्री तथा दलित समुदायमा उमेर नपुग्दै विवाह गरिदिने प्रचलन कायमै रहेको छ । जिल्ला सदरमुकाममा बाल विवाहका जोडि डोली र घोडा चढेर जादै गर्दा समेत उनिहरुलाई कसैले पनि रोक्न नसक्दा बाल बिबाह झनै कायमै रहेको स्थायिबासी मानबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाल बिबाहको अन्त्यका लागी खुलेका संघ संस्था तथा बाल बिबाह रोक्ने अधिकार पाएको स्थानिय प्रशासन त मौन छ अरुलाई के चासो ।”
कानुनमा विवाहका लागि अभिभावकको मञ्जुरिमा भए केटा र केटीको उमेर १८ बर्ष र आफुखुसी अर्थात कानुनी विवाह गर्ने हो भने २० बर्ष पुगेको हुनपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनुभयो । कानुनले बालविवाह गराउनेमा संलग्न सबैलाई कानुनी सजाय तोकेको भएपनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरेको छैन् । बालविवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था क्रियासिल भएपनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् ।

स्थानियवासीका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बालविवाह हुने गरेकोे छ । बालविवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारबाला संघ संस्थाहरुले खासै चासो नदेखाएको र यहाँका जिल्लावासीहरुमा जन चेतनाको कमीका कारण बालविवाह दिन प्रतिदिन बढदै जानथालेको दिपायलका अर्का स्थानियबासी मेखराज भट्टले बताउनुभयो ।

सानै उमेरमा बिबाह गरिदा सुदूरपश्चिम प्रदेशका अधिकांस चेलीले बच्चा पाउदा अकालमै ज्यान गुमाउने गरेको थाहा पाउदा पाउदै पनि यहाँको बालबिबाह रोक्न नसकिएको दिपायल पिपल्लाकी स्थानिय महिला अधिकारकर्मी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “उमेर नै नपुगी छोरीको बिहे गरे पछि समस्या हुन्छ भन्ने बुझेर पनि पुण्य कमाउने नाममा बिहे गर्न थालेका छन् सम्झाउदा मान्दैनन् कानुनी निकायले नै केही कमद चाल्नुपर्ने भयो ।”