सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावाद चलाउन खोज्यो


पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावाद चलाउन खोजेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाती संघ जिल्ला कार्य समिति भक्तपुरले नयाँ बर्ष २०७६ तथा बिस्केट जात्राको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरकारको कार्यशैलीका कारण मानव अधिकार, लोकतन्त्र ,स्वतन्त्र पत्रकारीता र न्यायलय माथि चुनौति थपिएको डा. कोइरालाले आरोप लगाउनुभयो ।

उहाँले राष्ट्रपतिले कार्यकारी भुमिका खोजेको आरोप लगाउँदै प्रधानमन्त्री र मन्त्रीले निभाउनुपर्ने भूमिका राष्ट्रपतिले पुरा गर्न खोज्नु दुर्भाग्यपुर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले संघीयताको मर्म बिपरीत सबै शक्ति आफैंमा केन्द्रीत गर्न खोजेको र सरकार भ्रष्टचारमा लिप्त भएको कोईरालाले बताउनुभयो ।दुई तिहाईको दम्भ देखाई रहेको सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको र सहि कामको लय पक्रन नसकेको बताउनुभयो ।

कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिनु भयो ।

सरकारका स्वतन्त्रता बिरोधी कृयाकलापका कांगे्रसले डटेर सामना गर्नुपर्नेमा कांगेस आन्तरिक बिवादमा रुमल्लिन नहुने उहाँको भनाई थियो ।

उहाँले काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको अब काँग्रेस बलियो हुनुपर्ने चर्चा गर्दै सरकारको कमजोरीप्रति काँग्रेसले कडा प्रतिवाद गर्न नसक्दा लोकतन्त्र फष्टाउन नसक्ने बताउनुभयो ।

कार्यक्रममा पुर्ब मन्त्री ईन्द्रबहादुर गुरुङ्गले ,नेता बुद्घिमान पाख्रिन,जिल्ला सभापति दुर्लभ थापा,पुर्व सांसद लेखनाथ न्यौपाने,नेता बाबुराजा जोशी,तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थ लगायतले बैशाख ११ गतेदेखि सुरु हुने जागरण अभियान मार्फत कांग्रेस एकतावद्ध भएर अघि बढ्ने ,सरकारका अलोकतान्त्रिक गतिविधि बिरुद्घ दृढतापुर्वक उभिने र आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गर्नुभयो।