बिरामी भन्छन्ः तातोपानी कुण्डमा डुबेपछि रोग चट्टै भयो


प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा डुबेपछि रोग निको भएको बिरामीहरुले आफ्नो अनुभव सुनाएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गो अस्पतालमा पुगेर उपचार गर्दा समेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको उनीहरु बताउँछन् ।

बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङका ६२ वर्षीय प्रेमबहादुर घर्तीले आफू १५ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रुपमा डुब्न आएको बताए । उनले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकोमा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताएका छन् । वर्षमा १ पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उनको भनाइ छ ।

यसैगरी गुल्मीको थर्पुकोट–१, का विष्णु कर्केले पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधी सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठीक भएको अनुभव सुनाए । औषधी उपचारमा मात्रै डेढलाख रुपैयाँ खर्च गरिसकेका कर्केले हालसम्म तेस्रोपटक तातोपानी कुण्डमा आएको जानकारी गराउँदै रोग निको हुँदै गएको बताए । उनले हातका औंला र पैतालामा समस्या आएपछि उपचारकै लागि २ महिनाको अवधिमा तीन पटकसम्म कुण्डमा आएको अनुभव सुनाएका छन् ।

त्यस्तै से–फोक्सुण्डो गाउँपालिका–८, रिक्म डोल्पाकी मिक्मा केसीको परिवार पनि तातोपानी कुण्ड स्नान गर्न आएको १० वर्ष पुग्यो । उनी र उनको श्रीमान्को पनि घुँडा दुख्ने समस्याले गर्दा वर्षमा कम्तीमा पनि एकपटक तातोपानी कुण्ड डुब्न आउने गरेको बताइन् । उनले बेलाबेलामा घुँडा दुखेर दुःख दिने गरेपछि डुब्न आएको भन्दै कम्तीमा पनि एक हप्तासम्म डुब्ने गरेको उनले जानकारी दिइन् । तातोपानी कुण्डमा डुब्दा पैसा पनि थोरै लाग्ने र औषधी उपचार तथा डाक्टरकोमा जाँनुभन्दा प्राकृतिक उपचार खोज्दै आएको उनको भनाइ छ । घुँडा, दुख्ने, ढाडको समस्या र ग्याँस्ट्रिक भएकाले त्यसलाई निको बनाउन आफूहरु तातोपानी आउने गरेको उनी बताउँछिन् ।

प्रेम, विष्णु र मिक्मा त केबल प्रतिनिधि पात्र मात्रै हुन् । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका छन् । पछिल्लो समय कुण्डमा बिरामीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।