गुणस्तरहीन खानाका कारण १ करोड १० लाखको मृत्यु

0
Shares

लन्डन, (एजेन्सी)
हामीले खाने खानाले नै प्रत्येक वर्ष हामीमध्ये १ करोड १० लाख व्यक्तिलाई मृत्युको मुखमा पुर्याइरहेको स्वास्थसम्बन्धी गम्भीर अध्ययनले जनाएको छ। ल्यान्सेटमा प्रकासित विश्लेषणमा विश्वभरि हुने मानिसहरूको ५ वटा मृत्युमध्ये एक कारण नियमित आहार हुने गरेको र तुलनात्मक रुपमा हेर्ने हो भने धुमपान यो ठूलो हत्यारा सावित भएको जनाइएको छ।

नुन, सोया सस र प्रशोधित खाद्यपदार्थका कारण विश्वमा वर्षेनी ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको बताइएको छ। अनुसन्धानकर्ताहरूले यो अध्ययन मोटोपनाको नभई मानव मुटुलाई क्षति पुर्याने र क्यान्सर निम्ताउने गुणस्तरहीन खानेकुराबारे भएको बताएका छन्।

विश्वव्यापी रोगको बोझमाथिको यो अध्ययन विश्वमा हरेक वर्ष मानिसहरू कसरी मर्दै छन् भन्नेबारे केन्द्रित रहेको छ। यस अध्ययनको प्रतिवेदनमा धेरै नुन सेवनका कारण ३० लाख, कम अन्न खानाले ३० लाख र निकै कम फलफूल खानाले २० लाख मानिसको प्रतिवर्ष मृत्यु हुने गरेको उल्लेख गरिएको छ।
बियाँ, बिज, सागसब्जी, सामुद्रिक खानामा रहेको ओमेगा–३ तथा रेशादार खाना नखानाले पनि विश्वमा अन्य थुप्रै व्यक्तिको ज्यान जाने गरेको उल्लेख गरिएको छ।

अमेरिकाको युनिभर्सिटी अफ वासिंगटनका इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनका निर्देशक प्रोफेसर क्रिस्टोफर मुर्रेले बीबीसीसमक्ष विश्वभरि मानिसको स्वास्थ्यमा आहारले गम्भीर प्रभाव पार्ने गरेको दावी गरेका छन्।

खानासम्बन्धी मृत्युको १ करोड १० लाख घटनामध्ये करिब एक करोडको कारण मुटुसम्बन्धी रोगबाट हुने भएकाले अधिक नुन निकै खतरनाक सावित भएको हो। अधिक नुन सेवनका कारण रक्तचाप बढ्ने हुनाले त्यसले हृदयाघात र मस्तिष्कघात गराउने बताइएको छ।

अनाज, फलफूल र सागपातले भने मुटुको समस्या हुनबाट जोगाउने गर्छन्। क्यान्सर र टाइप २ का डाइभिटिजको पनि आहारसँग परोक्ष सरोकार रहेको बताइएको छ।