संसद् अधिवेशन १६ गतेबाट


काठमाडौं, (नेस)
बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन वैशाख १६ गतेबाट बस्ने गरी संघीय संसद् सचिवालयले तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालि बैठक छिट्टै बोलाउने भनेपछि तयारी थालिएको प्रतिनिधिसभा कार्य व्यवस्था महाशाखाका सहसचिव वंशीराज पौडेलले बताउनुभयो। गत वर्ष वैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन शुरू भएको थियो। यो अधिवेशनको शुरूमा प्रि–बजेट छलफल हुनेछ। जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्नेछ।

२०७४ फागुन २१ गते शुरू पहिलो अधिवेशन चैत २० गतेसम्म र २०७५ वैशाख २३ गतेबाट शुरू दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो। पुस ११ गतेबाट शुरू भएको तेस्रो अधिवेशन चैत १० गते राति १२ बजेबाट अन्त्य भएको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ।

बैठकको पहिलो दिन विभिन्न दलका नेताले सम्बोधन गर्ने प्रचलन छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन्। अहिलेसम्म दुवै सभाको अधिवेशन एकै दिन शुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ।