विप्लव नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ


नरेन्द्र केसी, घोराही, दाङ
विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय सदस्य दाङमा पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–३ राम्री नजिकबाट उनीहरू पक्राउ परेका हुन्।

तुलसीपुर–सल्यान सडक खण्डको पैयाँखोरेबाट प्रहरीले केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरेको हो। उहाँहरूसँगै रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’ पनि पक्राउ पर्नुभएको छ।

रोल्पाको गंगादेव गाउँपालिका–३ घर भएका चूडामणि माओवादी आन्दोलनका पुराना नेता हुनुहुन्छ। पक्राउ परेका लालबहादुर उहाँकै भाइ रहेको र उहाँ रोल्पा जिल्ला जनसरकार प्रमुख भएको सुरक्षा स्रोतले जनाएको छ। त्यस्तै दार्माकोट गाउँपालिका–५ सल्यान घर भएका केन्द्रीय सदस्य खड्का केही समयअघि पनि पक्राउ परेर अदालतको आदेशपछि रिहा हुनुभएको थियो। खड्का सैन्य विभाग मध्यकमान्ड हेर्ने जिम्मेवारीमा रहेको सुरक्षा स्रोतको दाबी छ।

तुलसीपुर प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको जानकारी दिएको छ। स्रोतका अनुसार नेताहरू सल्यान जाने क्रममा बा१८च ३१४२ नम्बरको स्कोरिपियो गाडीबाट पक्राउ परेका हुन्। गाडीबाट नेताहरू सल्यान जाँदै गरेको सूचनाका आधारमा सल्यानको कपुरकोट र तुलसीपुरबाट गएको प्रहरीले बीचमा पारेर पक्राउ गरेको थियो।