चालक र सह–चालकको सडकमै स्वास्थ्य जाँच


विमल विष्ट, डोटी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका चालक तथा सह–चालकलाई सडकमै निःशुल्क स्वास्थ्य जाँचको अभियान सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले यहाँका लामो तथा छोटो दुरीका सवारी चालक तथा सह चालकहरुको दिनहुँ स्वास्थ्य चेक जाँच गरिरहेको छ । सवारी चालक तथा सह चालकहरु सवारी चलाउनमा दक्ष भए नभएको र मादक पदार्थ सेवन गरे नगरेका विषयमा जानकारी लिनकालागि सडकमै निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी चलाउनमा चालक कतिको दक्ष छ त्यो विषयमा जानकारी पाउनकालागि हामीले यो अभियान चलाएका हौँ, सधै र सबैको स्वास्थ्य परिक्षण हुने छ ।” दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको सहयोगमा चालक तथा सह–चालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिन सुरु गएको हो ।

पछिल्लो समय जिल्लाका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले गाडी चेकजाँचमा तिब्रता दिनुका साथै यहाँका चालकको निःशुल्क स्वास्थ्य परिक्षण तथा आँखा चेकजाँच कार्यक्रम आयोजना गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । शैलेश्वरी अस्पतालका डाक्टर निशान्त ढकालले स्वास्थ्य नै ठूलो धन भएकाले हरेक चालक तथा सह–चालकलाई तन्दुरुस्त राख्नका लागि शैलेश्वरी अस्पतालले ट्राफिक प्रहरीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य नै सबैभन्दा ठुलो कुरो हो,चालकको स्वास्थ्य परिक्षण गर्दा अस्को अवस्था के छ भन्ने बुझिन्छ,गाडी चलाउन सक्छकी सक्दैन सबै किल्यिर हुन्छ ।”

जिल्लामा हुने दुर्घटना न्यूनीकरणका लागि शैलेश्वरी अस्पतालले आगामी दिनमा पनि ट्राफिक प्रहरी सँग सहकार्य गर्ने अस्पतलाका निर्देशक आईजँग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो कामकालागि हाम्रो सधै र सबै सँग सहकार्य हुनेछ,चालकको हामी नियमित स्वास्थ्य चेकजच गर्ने छौँ ।” उक्त निःशुल्क स्वास्थ्य परिक्षणमा लामो तथा छोटो दुरीका कम्तिमापनि ४०० भन्दा बढी चालक तथा सह–चालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् । निःशुल्क स्वास्थ्य परिक्षण सँगै यहाँको पिपल्ला बसपार्कमा चालक तथा सह–चालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण पनि दिइएको छ ।

चालकको लापरबाहीबाट धेरै दुर्घटना हुन थालेपछि बसपार्कमा जम्मा भएका करिब १०० भन्दा बढी चालक तथा सह–चालकलाई प्रशिक्षण दिइएको शैलेश्वरी यातायता समितिका रुट ईन्चार्ज प्रेमबहादुर रावलले जानकारी दिनुभयो । उक्त निःशुल्क स्वास्थ्य जाँचमा आखाँको कम्जोरी देखिएका केही चालकलाई आखाँ चेकजाँच गरान सुझाब दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक हवल्दार शेरबहादुर बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही चालकको आखाँ कम्जोरी भएको पाईएको छ,आखाँ चेकजाँच गराएर मात्रै गाडी चलाउन सुझब दिएकाछौँ,आखाँ चेकजाँच गरेको कागज भएमात्रै गाडी चलउन पाईने छ ।” जिल्लामा चालक तथा सह–चालकहरुको आखाँ चेक जाँच गरिएको यो पहिलो पटक हो । ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त अभियानको यहाँका स्थानियले स्वागत योग्य काम भन्दै स्वागत समेत गर्न थालेका छन् । ट्राफिक प्रहरीले केही दिनमा यहाँ सञ्चालन हुने टयाक्टर चालककोपनि स्वास्थ्य परिक्षण गर्ने योजना बनाएको छ ।