नमुना पर्यटकीय गाउँ बनाउने अभियानमा पर्वतको भुकबासी


दुर्गाप्रसाद शर्मा, पर्वत ।
बिश्वकै उत्कृष्ट पपर्यटकीय पदमार्ग नजिकै भएपनि ओझेलमा परेको पर्वतको भूक गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने अभियानमा भुकबासी जुटेका छन ।

पर्वतको मोदी गाउँपालिका वडा नं १ भुक देउराली गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउन प्रबाशमा रहेका गाउँलेले सहयोग गरेपछि स्थानियबासी पनि कस्सिएका हुन ।

आफुँ प्रदेशमा भएपनि गाउँलाई सबैपुर्वाधारले युक्त नमुना पर्यटकीय गाउँ बनाउने उद्देश्य सहित प्रावशमा रहेका भूकबासीले ५० लाख भन्दा बढी सहयोग पठाएका छन । सहयोगबाट एउटा दुर्गम गाउँमा तपाईले कल्पना नै नगरेको पुर्वाधार निर्माण भएका छन । गाउँमा एकनासका ढुंगाले छाएका घर छन भने सबैघरै एउटै किसिमले रंगाइएको छ। गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढी संगै रेलिङ राखिएको छ । गाउँमा फोहोर फाल्ने ड्रम राखिएका छन भने विकसित सहरका जस्ता सार्वजनिक शौचालय छन गाउँका बिचमा ।

धूले सडकमा ढलान गरिएको छ । गाउँभरका रातैभरि उज्यालो हुनेगरी सडकबत्ती बनेका छन । महिला समुहले साप्ताहिक रुपमा बाटोघाटो पनि सफा गर्छन ।

नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको छ। २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ भने ४९ सडक बत्ती र ४ सार्वजनिक शौचालय बनाइएको छ। ‘घरको रंगरोगन, सिंढी, शौचालय सबै एउटै देखिँदा मिलेर बसेको समाज भन्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो । भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा करिब तीन दर्जन घर गुरुङ समुदाय र अधिकांश दलित समुदायका छन्। स्थानीयले होमस्टेको तयारी पनि गरेका छन्। सुरुमा १० घरले सञ्चालन गर्ने योजना छ। अहिले गाउँमा दुईवटा होटल सञ्चालनमा छन्। बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङको नेतृत्वमा प्रबासीले सहयोग गर्दै आएका छन । गाउँमा पुर्वाधार लागि ५७ लाख ८ हजार खर्च भएको छ।

गाउँबाट अन्नपूर्ण साउथ हिमाल देखिन्छ। केही माथि एकडेढ घण्टा उकालो चढेपछि धौलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला देख्न पाइन्छ। दृश्यावलोकन, सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रसँगै थप नमूना हुने उनको भनाइ छ। गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त छ। पछिल्लो समय नयाँपुल, भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग छ। पदमार्ग जाने पर्यटक टेन्ट हालेर बस्नुपर्छ। उनीहरुलाई गाउँमा ल्याउने योजना रहेको गाउँलेले सुनाए ।