टोल–टोलमा पुग्दै नेपाल प्रहरी


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले चेतनामुलक अभियान सुरु गरेको छ । शुक्रबार बलेफी गाउँपालिकामा स्थानीय समुदायसँग साक्षात्कार गर्दै शान्त र सुरक्षित समाज निर्माणका लागि जनस्तरबाटै सहयोग गर्नसमेत प्रहरी आग्रह गरेको हो । ‘प्रहरी एक्लैले अपराध रोक्न सक्दैन, समुदायको साथ सहयोग चाहिन्छ’, समुदायसँग खुला साक्षात्कार गर्दै इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले भन्नुभयो,‘समुदाय र प्रहरीको साझेदारीबाटै अपराध नियन्त्रण गर्न सकीन्छ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बलेफी बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा समुदाय प्रहरी बलेफी गाउँपालिकाका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष केदार क्षत्रीले हरेक नागरिक बर्दी विनाका प्रहरी भएकोले प्रहरीलाई सघाउनुपर्नेमा जोड दिनुभयो । ‘प्रहरीहरु बर्दीका नागरिक हुन्, हामी बर्दी बिनाका प्रहरी हौं’, क्षत्रीले भन्नुभयो ‘अब हामी प्रहरीसँग हातेमालो गर्दै समुदायस्तरबाट अपराध रोकथाममा जुट्नुपर्दछ ।’ कार्यक्रममा विकास निर्माणका काममा सुरक्षाको सवाल संवेदनसील बन्दै गएको भन्दै कार्यक्रममा सहभागीहरुले समुदाय प्रहरीले त्यतातर्फ ध्यान दिनुपर्नेमा सुझाए । गाउँटोलमा मादक पदार्थ सेवनका कारण घरेलु हिंशा, यौनजन्य हिंशाका घटना बढिरहेको भन्दै समुदाय प्रहरीले मादक पदार्थलाई नियन्त्रण गर्नुपर्ने सहभागीहरुले बताए ।

स्थानीय तहमा निर्वाचित प्रमुखहरुलाई नै समुदाय प्रहरी साझेदारी समितिको संयोजक बनाइएको छ । वडा तहमा वडाध्यक्षहरुले समुदाय प्रहरी संरचनाको नेतृत्व गरिरहेका छन् । विद्यालय तहमा सम्वन्धित विद्यालयका प्रअलाई नै संयोजक बनाइएको छ । विद्यालय तहसम्म समुदाय प्रहरीको संगठन निर्माण गरेको नेपाल प्रहरीले अब टोल टोलमै समुदाय प्रहरीको संरचना बनाएर अघि बढ्ने इलाका प्रहरी कार्यालय जलविरेका प्रमुख प्रहरी निरीक्षक गोपाल प्रसाद ढकालले बताउनुभयो ।

समुदायस्तरमा जनचेतना अभिवृद्धिका माध्यमबाट सम्भावित अपराध न्यूनिकरण गर्दै सुरक्षित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु उहाँले बताउनुभयो ।