स्थानीय तहलाई समुदायसंग जोडेर पर्यटन विकासको योजना बनाउन मुख्य मन्त्री पोखरेलको आह्वान


यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को सरकारले कृषिको व्यवसायिकरण गरी समृद्धिको यात्रा प्रस्थान गर्ने र पर्यटन विकासबाट समृद्धिको उचाईमा पुग्ने योजना अघि सारेको छ ।

चालु वर्षको बजेट यही लक्ष्यलाई हासिल गर्ने गरी ल्याईएको थियो ।
प्रदेश तथा स्थानिय निकायमा कर्मचारी समायोजनमा भएको ढिलाईले बजेट कार्यान्वयनमा केही समस्या देखिएपनि अहिले बजेट कार्यान्वयनको काम उत्साहजनक ढंगले भइरहेको छ । आगामी वर्षको बजेट यही मिशनमा केन्द्रीत भएर अझ फराकिलो ढंगले आउँदै छ ।
कृषिको व्यवसायिकरण र पर्यटन विकासबाट प्रदेशको समृद्धिको भिजन अघि सार्नु भएका मुख्यमन्त्री शंंकर पोखरेलले पर्यटकीय पाल्पाका विभिन्न ऐतिहासिक र सांस्कृतिक स्थलको अवलोकन गरी ती स्थलको महत्व, अहिलेसम्म भएका काम र आगामी दिनमा गर्नुपर्ने काम बारे जानकारी लिए लगत्तै प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउन सकिने बाघको हवको रुपमा रहेको बर्दिया पुग्नुभयो । त्यहाँ संरक्षणमा भएका प्रयास, पर्यटक आगमन र आगामी दिनमा गर्नुपर्ने कामबारे जानकारी लिनुभयो ।

जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु अन्य सरोकारवालासंगँ अन्तरक्रिया गर्दै उहाँले पर्यटक बढाउने र त्यसको फाइदा समुदायले लिने ढंगले गुरुयोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । पर्यटन विकास हुने तर समुदायले फाइदा लिन नसक्ने पर्यटन विकासको अर्थ नहुने उहाँको जोड छ । स्थानीय तहहरुलाई समुदायसंग जोडेर पर्यटन विकासको योजना बनाउन र त्यसको विस्तृत खाका प्रदेश सरकार समक्ष ल्याउन मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।

पाल्पा दरबार संग्रहालय, श्रीनगरको सांस्कृतिक डवली निर्माणस्थल,भैरवस्थान, रानीमहल, रुरुक्षेत्रसम्म अवलोकन गर्दै पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरद्वाराको सांस्कृतिक डवलीस्थलको अवलोकन र स्थानीयसंग भेट गरी समस्या र संभावनाको बृहत्तर जानकारीसमेत मुख्य मन्त्री पोखरेलले लिनुभएको छ । योजना निर्माण,बजेट विनियोजन र आगामी दिनमा चाल्नुपर्ने कदमका लागि यो भ्रमण फलदायी भएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताउनु भयो ।