नेपाल प्रहरी अस्पताललाई १ करोड ५० लाख हस्तानतरण

0
Shares

काठमाडौ(नेस) । नेपाल प्रहरी अस्पताल महारागन्जको ३५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अस्पतालमा विशिष्ट व्यक्तिको उपचारको लागि नवनिर्मित भिआईपी कक्ष तथा शिशु स्याहार केन्द्रको उद्घाटन गर्नुभयो ।

साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको १ करोड ५० लाख रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापालाई हस्तान्तरण समेत गर्नुभयो । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘आरोग्य दर्पण २०७५’ को समेत उहाँले लोकार्पण गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले अस्पतालको सेवा प्रवाहमा सहयोग र्पुयाउने महानगरीय सशस्त्र प्रहरी गण, महाराजगन्ज, ओमनिका फर्मासेटिकल्स, नोभाजेनिटिका फर्मासेटिकल्स, समी फर्मासेटिकल्स, क्वेस्ट फर्मासेटिकल्स र एशियन फर्मासेटिकल्सलाई प्रशंसापत्र, अस्पतालका भिजिटिङ कन्सल्टेन्टहरु डा. रोमियो कंशाकार र डा. राजीव कुमार देवलाई कदरपत्र, नेपाल प्रहरी अस्पतालमा ३ दशक अवधि सेवा गरी सेवानिवृत हुनभएका पूर्व प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.कुलेश थापा र पूर्व प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक गणेश राईलाई सम्मानपत्र तथा अस्पताललाई सहयोग गर्ने पूर्व प्रहरी निरीक्षक विद्याप्रसाद घिमिरे र पूर्व प्रहरी नायब निरीक्षक लिलाप्रसाद पौडेललाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अस्पतालले सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि गरेको सेवाग्राहीबाट सुन्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै सेवाग्राहीको सुविधाका लागि अस्पताललाई थप सुविधा सम्पन्न बनाउन आफू कटिबद्ध रहेको बताउनुभयो । स्वास्थ्यकर्मीको व्यवहारले अस्पतालमा आउने सेवाग्राहीको ५० प्रतिशत समस्या समाधान गर्नसक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो –जीवन बचाउने जस्तो ठूलो सेवा अरु हुन सक्तैन, व्यावसायिक धर्म अनुसार मन, वचन र विवेकले भ्याएसम्म बिरामीको सेवा गर्नुस् ।

समारोहमा आख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त केशव बराल, पूर्व प्रहरी महानिरीक्षकहरु रविन्द्र प्रताप शाह र कुवेरसिंह रानाले अस्पतालको उत्कृष्ट विभाग र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष प्रमिला खनालले अस्पतालका लागि १ सय थान तन्ना र सिरानीको खोल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापालाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष खनाल तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो ।

समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अरतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले स्वागत मन्तव्य तथा अस्पतालको प्रतिवेदन प्रस्तुत गर्दै भिआइपी डिलक्स कक्ष ८ वटा रहेको तथा अस्पतालमा कार्यरत कर्मचारीहरुका शिशुहरुका लागि निर्मित शिशु स्याहार केन्द्रमा १५ जनालाई सेवा प्रदान गर्न सकिने जानकारी गराउनुभयो ।

अस्पतालका डेपुटी डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.मीनराज पाठकले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, विभिन्न अस्पतालका मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।