आयोगद्धारा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक नवलपरासीमा कार्यरत कनिष्ट सहायक अन्चल सुनारविरुद्द विशेष अदालगतमा मुद्दा दायर गरेको छ । आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सुनारलाई सेवाग्राहीसँग दश हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सुनारले राष्ट्रसेवक कर्जावापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकान््न नमिल्ने गरी रोक्का राखी उक्त खाता खोल्ने प्रयोजनको लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनारलाई बिहीवार कानून बमोजिम सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै आयोगले श्री कालिका देवी प्राथमिक विद्यालय, अछाममा कार्यरत शिक्षक सुरत बहादुर रावलविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार रावलले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी कार्यरत रहेको खुल्न आएको छ ।
रावलले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट प्राप्त हाइस्कूल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सरकारी सेवामा बहाल रही लाभसमेत लिएको पुष्टि हुन आएको हो ।

आयोगले बिहीवार रावललाई कानून बमोजिमको सजाय माग गर्दै अदालत मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।