सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको नाम अनुमोदित


काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम आज सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । ढुङ्गाना र माथेमा उच्च अदालतमा मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने बाँकी कानूनी व्यवसायी हुनुहुन्छ ।

उहाँहरुविरुद्ध पाँच पाँच उजुरी परेको थियो । उजुरीका विषयमा प्रस्तावित न्यायाधीशले न्यायलाई छिटो र सुलभ बनाउन प्रयत्न गर्ने, आचारसंहिताको पालना गर्ने र अदालतको रणनीतिक योजनानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । न्यायपरिषद्को सिफारिशमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने र पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ ।
रासस