बस र ट्रिपर ठोक्किदा एकको मृत्यु, तीन घाइते


पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरमा गए राति बस र ट्रिपर एक आपसमा जुुध्दा एकको मृत्यु भएको छ ।भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ नलिनचोक ओरालोमा बस र ट्रिपर एक आपसमा जुध्दा बस सहचालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।मृत्यु हुनेमा बसका सहचालक सिन्धुपाल्चोक चौतारा सागागढी ३ बतासेका ३२ वर्षीय रमेश भण्डारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गए राति नलिनचोक ओरालोमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नं. को यात्रु नभएको बस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नं. को टिपर एक आपसमा जुधेको थियो ।बस सहचालक भण्डारीको मेडिसिटी अस्पताल ललितपुरमा उपचारकै क्रममा बिहान मृत्यु भएको परिसरका सूचना अधिकृत डिएसपी रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा सागागढी–३ बतासेका २४ वर्षीय सन्तोष थापा, ट्रिपर चालक सिन्धुपाल्चोक लिशंखु पारख गाउँपालिका–७ का २८ वर्षीय देव कुमार श्रेष्ठ र ट्रिपरका सहचालक मकवानपुर बकैया–८ का २३ वर्षीय कृष्ण बहादुर ठकुरी घाईते भएका छन् ।

प्रहरीका अनुसार बस चालक थापाको मेडिसिटी अस्पताल ललितपुरमा र टिपर चालक श्रेष्ठ र सहचालक ठकुरीको मध्यपुर ठिमी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।