अल्लोको कपडाको माग बढेसंगै व्यवसायी उत्साहित

0
Shares

धनवीर दाहाल, रुकुम ।
अल्लोको कपडाको माग बढेपछि रुकुममा यसको व्यवसायले स्थान पाउन थालेको छ । अल्लो उत्पादनका लागि उर्वर ठाउँ रुकुम पुर्व र रुकुम पश्चिमका प्रायजसो नागरिकहरु व्यवसायिक रुपमा अल्लो कपडा उत्पादनतर्फ अग्रसर हुन थालेका छन् । गाउँघरमै अल्लोको व्यापार सोचे भन्दा राम्रो हुने भएकोले स्थानीयहरुले अल्लो कपडा उत्पादनलाई विशेष जोड दिएका छन् ।

आफुहरुलाई अल्लोबाट राम्रो आम्दानी भएको स्थानीय तिर्था पुनले बताउनुभयो । उहाँले अल्लो प्रसोधन सम्बन्धी तालिम लिएकोले पनि झनै सहज भएको अनुभव सुनाउनुभयो । यसै गरी स्थानीय ठानबहादुर बुढाथोकीले पनि अल्लोबाट मनग्य आम्दानी भएको जानकारी दिनुभयो । यसलाई व्यवसायिक बनाउन आफुहरु लागेको उहाँको भनाई छ ।

व्यवसायिक अल्लो उत्पादन तथा कपडा बिक्रिबाट झण्डै २ लाखभन्दा बढी बार्षिक आम्दानी हुने गरेकाले पनि स्थानीहरु अल्लो व्यवसायमा लागी परेका हुन् । स्थानीय वनजंगल तथा घर आँगनमै पाईने अल्लो खेतीको प्रयोग बढ्न थालेपछि हाल रुकुम पुर्वको काँडा, राङ्सी, पोखरा तथा रुकुम पश्चिमको मुसिकोटमा पनिअल्लो कपडा उत्पादनगर्ने उद्योगहरु संचालनमा आएका छन् ।

आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले विभिन्न रोगहरु समेत निको हुने भएकोले अल्लो कपडाको माग दिनहुँबढ्दै गईरहेको स्थानीयहरु बताउँछन् । खास गरेर अल्लो कपडाको प्रयोगले जाडोमा न्यानो हनुका साथै चर्म रोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने जन विश्वास रहेको छ । त्यस्तै अल्लो कपडा रेडिमेड भन्दा बलियो र टिकाउ हुने भएकाले देश तथा विदेशमा समेत निर्यात हुँदै आईरहेको छ ।