माग पुरा नभए सशक्त आन्दोलन गर्ने पत्रकार महासंघ रामेछापको चेतावनी

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी तथा प्रहरीद्धारा पक्राउ परेका पत्रकार अर्जुन गिरी सहितका पत्रकारहरुलाई तत्काल विना शर्त रिहाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकारलाई समाचार लेखेकै कारण विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लगाएर पटक–पटक पक्राउ गरिएको भन्दै उक्त दफा खारेजीको माग गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा शान्तिपूर्ण एक घण्टे धर्ना मार्फत महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष रमेश ढुङ्गेलको नेतृत्वमा जिल्लाका विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारहरुको टोलीले जिल्ला प्रशासन रामेछाप मार्फत सरकारलाई विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजी गरी प्रहरीले पक्राउ गरेका पत्रकारलाई रिहाई गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।

यदि ज्ञापन पत्रमा उल्लेखित मागहरु सरकारले पूरा नगरे थप नेपाल पत्रकार महासंघ केन्द्रले तया गरेको आन्दोलनमा रामेछापले पनि सशक्त आन्दोलन गरिने समेत ज्ञापन पत्रमा उल्लेख रहेको छ ।