‘विप्लवलाई राजनीतिक मूलधारमा ल्याउँदै छौं’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
गृहमन्त्री रामबहादुर थापाले राज्य र संविधानविरोधी गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
विप्लव समूहलाई यसअघि पनि राजनीतिक मूलधारमा ल्याउन प्रयत्न गरिएको र अब पनि यही काम भइरहेको उहाँले बताउनुभयो । ‘विप्लव समूहमाथि प्रतिवन्ध लगाइए पनि वार्ताको ढोका खुला छ,’ थापाले भन्नुभयो–उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न जारी छ ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश–३ स्तरीय सुरक्षा गोष्ठीमा उहाँले कानुनविपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभयो । मुलुकभित्र ध्वङ्सात्मक गतिविधि गर्न कसैलाई छुट नभएको बताउँदै उहाँले भन्नुभयो–राज्यविरुद्ध गतिविधि गर्दा सीके राउतलाई पनि पक्राउ गरिएको थियो । हाल राज्यविरुद्ध ध्वङ्सात्मक गतिविधि गरिएकोले विप्लवका नेता÷कार्यकर्तालाई पक्राउ गरिएको हो ।

गृहमन्त्री थापाले सुरक्षा संवेदनशीलता खलबलाउने क्रियाकलापमा संलग्न हुने जोकोहीलाई सरकारले कानुनी दायरामा ल्याइने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले विप्लव पार्टीलाई अपराधमा संलग्न भएको आधारमा प्रतिवन्धित गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–विप्लवलाई मैले होइन, नेपालको कानुनले प्रतिवन्धित गरेको हो । नेपालको संविधानमा आपराधिक गतिविधि गर्ने, गैरकानुनी काम गर्ने र मुलुकको शान्ति सुव्यबस्था खलबलाउने अधिकार कसैलाई नभएकोले त्यस्ता क्रियाकलाप गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले सीके राउतलाई सरकार मूलधारमा ल्याउन सफल भएको भन्दै विप्लवलाई पनि मूलधारमा ल्याउन प्रयास जारी रहेको बताउनुभयो ।

विप्लवका शीर्ष नेताहरु पक्राउ गरिएको विषयमा भने उनीहरुको आपराधिक गतिविधि नियन्त्रण गर्नमात्र खोजिएको उहाँले बताउनुभयो । विप्लवलाई मूलधारमा ल्याउन सरकारले वार्ता कमिटी निर्माण गरी छलफल गरेको उहाँले स्मरण गर्नुभयो ।

संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षा मजबुत बनाउन सकिने उहाँले बताउनुभयो । संघीय प्रहरी ऐन नबनिसकेकोले समस्या भएको बताउँदै ऐन बनेपछि सुरक्षासम्बन्धि अधिकार प्रदेशमा आउनेमा उहाँले विश्वास दिलाउनुभयो ।

संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले पुरानै प्रक्रियाअनुसार चलिरहेको बताउँदै उनले कार्यकारी आदेशमार्फत् तीनै तहको सरकारसँग समन्वय गरेर शान्तिसुरक्षाको काम भइरहेको बताउनुभयो ।