कुमार श्रेष्ठ, नेपालगञ्ज
बाँके खजुराका झबरा खानले नेपालगञ्जमा रहेको जिल्ला अदालत र पुनरावेदन अदालत (उच्च) धाउन थालेको १६ वर्ष भयो । तमसुक गरेर ऋण लिएको १६ हजार रुपैयाले झबरालाई १६ वर्षदेखि अदालतमा दौडाइरहेको छ ।
२०५७ पुस २७ गते झबराले छिमेकी जलालुद्दिन भन्ने जमाल खाँसँग १६ हजार रुपैया सापट लिएका थिए । तमसुक गरेर लिएको १६ हजार ऋणवापत जमालले झबराको दश कठ्ठा जग्गा बन्धकी पनि खाए । जमालले ‘पावर’ देखाएर १६ हजारमा झबराको चार कठ्ठा जग्गा खान खोजे । झबराले चलनचल्तीको मूल्यमा जग्गा खान सहमति जनाए । जमालले १६ हजारमै चार कठ्ठा खान जोडबल गरे । कुरा मिलेन ।
पैसा लिएको दुई वर्षपछि एक दिन अदालतबाट कर्मचारीहरु झबराको घरजग्गाको मुचुल्का गर्न आइपुगे । झबरा त छाँगाबाट खसेजस्तै भए । भएछ के भने जमालले ‘पावर’को प्रयोग गरेर झबराको घरजग्गा लिलामी प्रक्रिया अघि बढाएका रहेछन् । त्यो कुरा थाहा पाएपछि झबरा दौडेर अदालत पुगे । प्रतिउत्तर लगाएर घरजग्गा लिलामी हुनबाट जोगाए । त्यसपछि झबराले चार कठ्ठा जग्गा बेचे । जग्गा बेचेपछि झबराका छोरा १६ हजारको ठाउँमा ३२ हजार दिन जमालको घरमा गए । जमालले ‘पैसा लिन्न, तेरो घर जग्गा नै खान्छु’ भनेर फिर्ता पठाए ।
‘१६ हजारको ३२ हजार लिन मान्दैनन् । चलनचल्तीको ब्याज नै लिऊ भन्दा पनि जमाल मान्दैन । उसको नजर त ‘कानूनलाई किनेर’ मेरो घर जग्गा हडप्ने नै रहेको छ, झबराले भने, म पनि १६ वर्षदेखि त्यसको प्रतिकार गर्दै पछिपछि दौडिरहेको छ ।’
जमालले नेपालगञ्जमा चर्चितमध्येकै कानून व्यवसायी राखेका छन् । उनले झबराको घरपरिवार र छिमेकीलाई ‘न्यायाधीशसम्म मिलाएर’ झबराको घरजग्गा हडपेरै छोड्ने धम्की दिने गरेका छन् ।
सापट लिएको पैसा ब्याजसहित दिंदा नलिएका जमालको आँखा खजुरामा रहेको झबराको करोडौको घरजग्गामा परेको छ । झबराको घरजग्गा लिलामी आदेश हुँदाको घटना पनि ‘नेपालको कानून, दैवले जानुन्’ भन्ने खालको छ । अदालतका कर्मचारी धनसिंह गिरी मुचुल्का गर्न गएका थिए । उनले झबराको घर रहेको जग्गाको मुचुल्का गरे । तर, मुचुल्का घर देखाएनन् ।
अर्को कुरा बैंकबाट ऋण लिएकाले त्यो घरजग्गा रोक्का थियो । भूमाफिया र कर्मचारीले झबराको उपस्थिति बिना नै फुकुवा गरेर लिलामी प्रक्रियामा पु¥याए । दुई वटा भन्दा पनि खतरनाक खेल त अर्को भयो । त्यो के भने नि, धनसिंहले एउटा व्यक्तिलाई साछीमा नाम राखेर अर्को व्यक्तिको टाप लगाएर मुचुल्का बनाए । गिरीको टोलीले मन्ना अहिर, जब्बार खाँ, समिर खाँ र चन्टु मनिहारलाई साछीमा राखेर टाप लगाएका छन् । यी सबै व्यक्तिको नाम मिलेपनि टाप भने मिलेको छैन । नाम एउटाको, टाप अर्काको लगाउने काम भएको छ ।
टाप लगाएकामध्येका मन्ना अहिर र जब्बार खाँ आफ्नो टाप नभएको भन्दै अदालतमा उपस्थित भइदिएपछि धनसिंह गिरीलाई अप्ठेरो परेको थियो । यी दुई जनाको टाप हो कि होइन भनेर काठमाडौंमा पठाइयो । उताबाट यिनीहरुको टाप नभएको पुष्टि भएर आयो । प्रयोगशालाले मन्नाको मिलेन नै भनेर यकिन गरेर पठायो । जब्बारको यकिन भएन भन्ने देखायो । यसका बाबजुद पनि धनसिंह गिरीलाई कारबाही भएको छैन । न त अघिल्ला दुई किर्तेमा नै कुनै कारबाही प्रक्रिया अघि बढेको छ ।
एउटा साधारण व्यक्तिलाई शक्तिशालीले कसरी अदालतका कर्मचारीसँग मिलेर दुःख दिंदा रहेछन् भनेर खोज्नलाई झबराको मुद्दा हेरे पुग्छ । पैसा दिंदा लिदैनन् । एउटा मुद्दा हार्ने बित्तिकै जमालले अर्को मुद्दा हाल्छन् । यसो गर्दा गर्दै १६ वर्ष बितिसकेको छ । यो अवधिमा तीन पटक पुनरावेदन (उच्च) र ४÷५ पटक जिल्लामा मुद्दा लागिसकेको छ । झबरा अहिले पनि पाँच वटा फाइल लिएर अदालत धाइरहेका छन् । पछिल्लो पटक जमालले ‘लिखत बदर’मा मुद्दा हालेका छन् भने झबराले किर्ते जालसाछीमा मुद्दा लगाएका छन् । १६ हजारको मुद्दा लड्दा लड्दै झबराले १० कठ्ठा बेचिसकेका छन् ।
अब त उनको त्यही खजुरामा १४ धुरमा रहेको घरमात्रै बचेको छ । झबरा भन्छन्, ‘जमाल कानूनलाई खरिद गर्दै हिडेका छन् । म पछि पछि दौडिरहेको छु । अब त बरु घरजग्गा गए जान्छ । तर, किर्ते जालसाछीमा कारबाही नभएसम्म म पछि हट्दिन । सर्वोच्च जानु परेपनि जान्छु ।’
‘ढिलो न्याय दिनु पनि अन्याय हो’ भन्ने गरिन्छ । झबराको घटनामा कानून बुझेकाले खेलिरहेका छन् । झबरा प्रश्न गर्छन्, ‘मलाई कहिले न्याय मिल्छ ? के मैले १६ हजारमै करोडौको घरजग्गा दिनु पर्ने हो ?’











प्रतिक्रिया