नेपाललाई विद्वान्को देश बनाउनुपर्छ: प्रम ओली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा हिजो बुधबार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

‘नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नुपर्छ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौ । तर, अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्छ, त्यसपछि मात्र उनीहरुल छोराछोरी पढ्न पठाउछन्’ –ओलीले भन्नुभयो ।

प्रम ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पार्नुभएको छ । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्, युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ’ –उहाँले बताउनुभयो ।

गत वर्षदेखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गर्नुभएको छ । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यस वर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अन्तरक्रियालाई शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।