बाराका हावाहुरीपीडित: प्रदेश–३ सरकारद्वारा १ करोड हस्तान्तरण

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ सरकारले बारा र पर्साका हावाहुरीपीडित परिवारका लागि राहत रकम हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश–२ को राजधानी जनकपुर पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेल र प्रदेश–३ की उपसभामुख राधिका तामाङले राउतलाई प्रदेश सरकारको एक करोड रुपियाँ र प्रदेशका सांसद्को ४ लाख ६९ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । प्रदेश–२ का मुख्यमन्त्री राउतले समस्यामा परेको समयमा छिमेकी प्रदेशले सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

छिमेकी प्रदेशका नागरिक हावाहुरीका कारण पीडित बनेकोले उनीहरुका लागि सहयोग गर्ने उद्धेश्यले प्रदेश–३ सरकारको मन्त्रिपरिषद् बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग रकम प्रदेश–२ को दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने मुख्यमन्त्री राउतले बताउनुभयो ।

प्रदेशसभाका १ सय ९ सदस्यको तीन दिन बराबरको तलब रकम कटाएर चार लाख ६९ हजार रुपियाँ सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटी र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झालगायतको सहभागिता थियो ।