भर्नामा अभिभावकत्व, सांसद्की ‘छोरी’ पहिलो, मुख्यमन्त्रीका पास

0
Shares

हेटौंडा ।
गत वर्ष प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफू अभिभावक बनेर भर्ना गरेका दुई विद्यार्थी पास भएका छन् । मनहरी गाउँपालिका–६, जोगीटारस्थित राष्ट्रिय माविका सञ्जीत भ्लोन र जेशिका प्रजा पास भएको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानले जानकारी दिनुभयो । विद्यालयमा ती दुई बालबालिकाको अभिभावकको नाममा डोरमणि पौडेल उल्लेख छ ।
जेशिका ७ वर्षकी भइन् भने सञ्जीत पनि सोही उमेरका छन् । पास भएर जेशिका तीन कक्षामा गएकी छन् । सञ्जीत भने दुईमा पुगेका छन् । सञ्जीत कक्षामा १६ औं स्थानमा रहेर प्रथम श्रेणीमा पास भए भने जेशिका ३९ औं स्थान छिन् ।

मुख्यमन्त्री पौडेल दुई बालबालिकालाई भर्ना गरेपश्चात् दुई पटक विद्यालय पुगेको प्रअ मोक्तानले बताउनुभयो । पौडेलले दुई बालबालिकालाई कति कक्षासम्म अभिभावकत्व प्रदान गर्ने होे निश्चित नभएको प्रअ मोक्तानले बताउनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हेटौंडा—२ को सिद्धार्थ माविमा अभिभावकत्व लिनुभएका दुई विद्यार्थी पनि पास भएका छन् । रौतहटका निराकार रायमाझी र लीलाकर रायमाझी पास भएका हुन् । निराकार कक्षा–७ मा पुगेका छन् भने लीलाकर कक्षा–६ मा गएको विद्यालयले जनाएको छ । उनीहरुको नतिजा ‘सन्तोषजनक’ रहेको विद्यालयले बताएको छ ।

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले हेटौंडा—१७, हटियामा लक्ष्मी निमाविमा अभिभावकत्व लिएका सामुयल दर्नाल पास भएका छन् । बालकक्षाबाट दर्नाल कक्षा–१ पुगेको विद्यालयमा प्रधानाध्यापक उदय उपाध्यायले जानकारी दिनुभयो । दर्नाल पढ्नमा अब्बल रहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सांसद् विरोध खतिवडाले महेन्द्रकिरण मावि मनहरीमा अभिभावकत्व लिनुभएका दुई विद्यार्थी पनि पास भए । सबिन थिङ र विश्वास थोक्रो दुवै जना २ कक्षामा गएका छन् । प्रदेशसभा सांसद् मुनु सिग्देलले महेन्द्रकिरण मावि बसामाडीबाट अभिभावकत्व लिएका कविता पाख्रिन प्रथम भएकी छन् । उनी कक्षा–५ मा पुगेकी छन् । उनी पढ्नमा तेज रहेको विद्यालयले जानकारी दिएको छ ।

सोही विद्यालयबाट जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले अभिभावकत्व लिएका आर्यन सुनार पनि पास भएका छन् । उनको नतिजा भने समान्य रहेको विद्यालयले जनाएको छ ।

प्रदेशसभा सांसद् ओम घलानले राष्ट्रिय मावि सुनाचुरीबाट अभिभावकत्व लिएका सुनिल चेपाङ पास भएर कक्षा–३ मा पुगेका छन् । जनप्रतिनिधिले भर्ना गर्ने क्रममा एकै विद्यालयमा तीन कार्यालयका जिल्ला प्रमुखहरुले समेत विद्यार्थी भर्ना गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले हेटौंडा–१४ को दिव्यज्योति प्रावि बेतखोल्सीबाट अभिभावकत्व लिएका सृष्टिना स्यांतान द्वितीय भएकी छन् र आइतेसिंह थिङ पास भएका छन् । सृष्टिना कक्षा–३ मा गएकी छन् भने आइते बालकक्षाबाट १ मा पुगेका छन् ।
मकवानपुरका पूर्वप्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उक्त विद्यालयबाट अभिभावकत्व लिएका आकाश रासकोटी कक्षा–१ बाट पास भएर २ मा पुगेका छन् । मकवानपुरका पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले अभिभावकत्व लिएका आयुष्मान रानामगर कक्षा–२ बाट प्रथम भएर कक्षा–३ मा पुगेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

अभिभावकत्व लिएका प्रमुखहरु नभएको अबस्थामा अबका दिनमा विद्यालयले केकसरी काम गर्ने भन्ने विषयमा विद्यालयमा छलफल भइरहेको प्रअ आचार्यले बताउनुभयो ।

भीमफेदी गाउँपालिका प्रमुख हिदम लामाले महालक्ष्मी मावि सुपिङबाट अभिभावकत्व लिएका सिर्जना प्रजा पास भएका छन् भने सोहित मिजार प्रथम भएको लामाले जानकारी गराउनुभयो । सिर्जन कक्षा–३ मा पुगेका छन् भने सोहित कक्षा–५ मा पुगेका छन् ।

बागमती गाउँपालिका प्रमुख सर्केश घलानले बागमती निमावि राईगाउँबाट अभिभावकत्व लिएका प्रशान्त माझी पास भएको विद्यालयले जानकारी गराएको छ । प्रशान्त कक्षा–२ मा पुगेको विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाले बताउनुभयो ।

गत वर्ष सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्धेश्यसाथ अभियान घोषणा गरिएको थियो । त्यहीअनुरुप मकवानपुरमा जनप्रतिनिधि तथा विभिन्न निकायमा व्यक्तिले विद्यार्थी भर्ना गर्नुभएको हो ।

मकवानपुरबाट ८८ जनाले अभिभावकत्व लिएका थिए । मन्त्रीदेखि सांसद्, वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा जिल्ला प्रमुख अभिभावकत्वमा संलग्न थिए । अभिभावकत्व लिइएका विद्यालयका विद्यार्थीको पूर्ण जानकारी आउन केही समय लाग्ने जिल्ला शिक्षा समन्वय एकाईंले जनाएको छ ।