प्रथम शैलुङ्ग महोत्सवको ८० प्रतिशत तयारी सम्पन्न

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
रामेछाप र दोलखाको सिमनामा पर्ने शैलुङ्गमा गर्न लागिएको प्रथम साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव २०७६ को तयारी ८० प्रतिशत सकिएको आयोजकले जानकारी दिएको छ । रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ्ग गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा यहि वैशाख १३, १४ र १५ गते हुने महोत्सवको काम ८० प्रतिशत सकिएको रामेछापमा बुधबार पत्रकार सम्मेलन गरी जनकारी गराइएको हो ।

प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गर्न लागिएकोे महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

मुख्य आयोजकको रुपमा रहेको रामेछापको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले महोत्सको बारेमा जानकारी गराउँदै शैलुङ्ग महोत्सव अपेक्षा गरे अनुसार सफल भए रामेछाप र दोलखाको मात्रै नभएर भविष्यमा नेपालकै आर्थिक समृद्धि र मुख्य पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । उहाँले महोत्सवलाई सफल बनाउनको लागि आम रामेछापबासीले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै दोलखाको शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलाल र मेलुङ्ग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले सैलुङ्ग क्षेत्र रामेछाप र दोलखाको साझा स्थान भएकाले महोत्सवलाई दुबै जिल्लाको हो भन्ने दृष्टिले हेर्नुपर्नेमा जोड दिएका छन् ।
७० लाख खर्च अनुमान गरिएको महोत्सवमा दश हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले बताएको छ ।

शैलुङ्गमा भएका १०० भन्दा बढी थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छ भने नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, पदमार्गमा विभिन्न धार्मिक स्थलहरुको अवलोकन, रमणीय हिमश्रृखलाहरुको अवलोकन, नेपालका ख्यातीप्राप्त कलाकारहरुद्धारा प्रस्तुत हुने सांगीतिक प्रस्तुतीबाट आनन्दा लिन सकिने छ । महोत्सवमा पुग्न सिन्धुपाल्चोकको मुडे हुदै ढुंगे खोला खर्क शैलुङ्ग एउटा, मन्थली, खिम्ती, फुलासी डेबीटार हँुदै शैलुङ्ग सम्म अर्काे र सित्खा खाँडादेवी हँुदै शैलुङ्गसम्मको सडक मार्ग तथा पैदल गन्तव्य मार्गहरु तोकिएको छ ।