घाम अस्ताएसंगै अस्ताउछ दुर्गमको सञ्चार

0
Shares

सलिम अन्सारी, प्युठान ।
गौमुखी क्षेत्रको इन्टरनेट र फोनसेवा कतिबेला आउँछ, कतिबेला जान्छ केही ठेगान छैन । विद्युत विस्तार नभएका कारण दुर्गम रजबारामा रहेको बिटिएस टावरमार्फत हुने सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । विद्युत सुविधा नपुगेका रजवारा, अर्खाका मोबाइल प्रयोग गर्ने ग्राहकहरूले मौसमको भरमा सेवा पाउने गरेका हुन्।

वर्षातको समयमा घाम नलाग्ने हुँदा सेवाग्राहीहरु बढी मर्कामा पर्ने गरेका छन् । गौमुखी १ का वडाअध्यक्ष मान बहादुर थापाले घाम लागेको बेला मात्रै टावर संचालनमा आउने बताउनुभयो। ’इन्टरनेटको त कुरै छाडौ, घाम नलाग्दा फोन समेत गर्न पाइँदैन।’ थापाले भन्नुभयो,’ मौसम खराब हुँदा त दुई चार दिनसम्म पनि टावर हुँदैन।’ दुख पाईएको छ उहाले भन्नुभयो ।

बेलुकी घाम अस्ताएपछि बिहान ८ बजेभन्दा अघि दुर्गमवासीले सञ्चारबाट बिच्छेद हुने गरेका छन्। गौमुखीक्षेत्रमा अहिलेसम्म घामकै भरमा सञ्चार चल्ने र रातीको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था छ, गौमुखी २ का वडाअध्यक्ष डोर बहादुर रानाले भन्नुभयो, ‘टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा सञ्चारबाट सेवाग्राहीले समस्या झेल्नपरेको छ । आकस्मिक रुपमा गाउँ बाहिर सम्पर्क गर्न फोनमा टावर नभएकै कारण रातीको समयमा असम्भव हुने गरेको उहाको भनाई छ ।

कुनै घटना, दुर्घटनाको जानकारी समेत घाम लागेको बेलामा मात्रै दिन सकिने, नभए सञ्चार र प्रविधिको युगमा समेत आफुहरुले सञ्चार सञ्जालको पहुँच बाहिर रहनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उत्तरी प्युठानको गौमुखी ३ बस्तुकमा रहेको बिटिएस टावर सोलारका भरमा संचालन हुँदै आएको छ। ६ बर्ष अघि निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ।

नेपाल दुरसंचार संस्थान प्युठान शाखाका प्रमुख कृष्ण कुमार श्रेष्ठले सोलार प्यानलको भर गर्नुपर्ने हुंदा यहाँ समस्या भएको बताउनुभयो। ’घामको भरमा मात्र २४ सै घण्टा भने सेवा प्रदान गर्न सकिदैन।’ श्रेष्ठले भन्नुभयो,’ ब्याट्री चार्ज हुन २र३ दिन समय लाग्छ। ब्याट्री डाउन छ। ’बिद्युत नभएकै कारण सेवा प्रभावकारी नभएको उहाले बताउनुभयो। गौमुखीको नारीकोट,रजवारा र झिमरुकको तुषारामा टावर भए पनि ती प्रभावकारी छैन्न।

झिमरुक र गौमुखी क्षेत्रमा मोबाइल सेवालाई प्रभावकारी बनाउन मल्लरानी गाउँपालिकाको चुजा सिंदुरेलेकमा टावर निर्माण गरिए पनि संचालनमा न आउंदा थप समस्या छ । गौमुखी र झिमरुक गाउँपालिका क्षेत्रका टेलिकमका सेवाग्राही ८ हजारभन्दा बढी छन् । त्यस्तै उत्तरी प्युठानकै नौवहिनी क्षेत्रमा समेत टेलिफोन सेवा नियमित नभएको स्थानीयले गुनासो गरेका छन। जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल गौमुखी मन्दिर क्षेत्रमा मोबाइल राम्रोसँग नचल्दा गौमुखी आउने पर्यटकले समेत समस्या भोग्नु परेको गौमुखी ३ का वडा अध्यक्ष रानाले बताए ।