५ जोडी सन्थाल युवायुवतीको सामूहिक विवाह

0
Shares

सरोज यादव, विराटनगर
गांउ र शहरबीचको सांस्कृतिक अन्तरघुलन गर्ने उद्धेश्य सहित विराटनगरमा ५ जोडी सन्थाल युवायुवतीको सामुहिक विवाह सम्पन्न भएको छ । संकटमा पर्दै गएको सन्थाल समुदायको रितिरिवाज र धर्म जोगाउन समेत सामूहिक विवाहको आयोजना गरिएको हो ।

विराटनगर मेनरोडस्थित अतिथि सदनबाट सन्थाल समुदायको ठूलो समुह परम्परागत बाजागाजाको धुनमा सांस्कृतिक नृत्यगर्दै नजिकै रहेको जैन भवनतर्फ लम्कियो । अवसर थियो सामुहिक विवाहको । झापा र मोरङका ५ जोडी युवायुवतीको सामुहिक विवाह हुनेभएपछि बेहुला पक्षसंग आएका जन्ती परम्परागत पोशाकमा सजिएर जैन भवनतर्फ अघि बढेका थिए ।

नृत्य समुहको पछिल्लतिर ५ वटा सिटि सफारीमा परम्परागत वैवाहिक भेषभुषामा सजिएका बेहुला गमक्क परेर बसेका थिए । मेनरोडमा नृत्य प्रस्तुतगर्दै अघि बढेका बेहुला र जन्तीको टोली केहिबेरमै जैन भवनमा प्रवेश गरेका थिए । जैन भवन परिसर प्रवेश गरेको जन्ती टोलीले सो ठांउमा समेत नृत्य प्रस्तुत गर्दै वैवाहिक उत्सवमा रमाएका थिए । लगत्तै बेहुला र जन्तीलाई विराटनगरका मारवाडी समुदायका अगुवाहरुले स्वागत गरेका थिए ।

केहिबेरमै पांचै जोडीको सन्थाल वैवाहिक परम्परा अनुसार स्वयंबर र विवाह सम्पन्न भयो । विवाह लगत्तै भवनको माथिल्लो तल्लामा ब्यवस्थापन गरिएको दिवाभोजमा बेहुला र बेहुली पक्ष सहभागि भए । विवाह सम्पन्न भएलगत्तै आयोजक पक्षले नवविवाहित जोडीलाई साइकल, घडी, चांदीका गहनासहित घरजम गर्न आवश्यकपर्ने खाद्यान्न र लुगाफाटा सहित बिदाई ग¥यो । सिटि सफारीमा आएका बेहुला उपहारस्वरुप पाएका सामाग्रि र बेहुली लिएर सिटि फेरी सफारीमै नया जीवन शुरु गर्न आफ्नै गन्तब्यतर्फ फर्किए । विवाहमा सहभागि बेहुला र बेहुली प्रफुल्लित देखिएका थिए ।

आफ्नो बैवाहिक संस्कृति महानगरबासीक बीचमा प्रदर्शन गर्न पाएकोमा आफूहरु खुसी भएको उनीहरुले प्रतिक्रिया दिएका छन । यसअघि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली सहित समाजका अन्य विशिष्ठ ब्यक्तिहरुले बेहुला र बेहुलीलाई शुभकामना र आर्शिवाद दिन पुगेका थिए ।

विराटनगरस्थित जनजाति कल्याण आश्रम र मारवाडी युवा मञ्चको संयोजनमा सामुहिक विवहाको । गांउ र नगरबीचको सांस्कृतिक अन्तरघुलनमा यसप्रकारको विवाहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने सरोकारवालाको भनाई छ । जनजाति कल्याण आश्रमका संस्थापक अध्यक्ष विराटनगर–९ का शिवरतन जोशीले विपन्न परिवारका सन्थाल जोडीको सामुहिक विवाहमा लागेको सम्पुर्ण खर्च बेहोरिदिनु भएको छ ।