प्रदेश–३ को सुरक्षा गोष्ठी सुरु

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
गृह मन्त्रालयको आयोजनामा प्रदेश–३ स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । सुरक्षाका सम्बन्धमा देखापरेका समस्या र चुनौतीका विषयमा सबै पक्षलाई जानकारी गराउने उद्धेश्यले गोष्ठी आयोजना गरिएको हो ।

प्रदेशस्तरको सुरक्षा गोष्ठीमा चार वटै तहका सुरक्षा निकाय प्रमुखसहितको सहभागिता छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथी सुवर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुबेदीलगायतको सहभागिता छ ।

नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आईजीपीहरुले सुरक्षाका विषयमा प्रस्तुतिकरण गरेका छन् । गृह मन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, गृह मन्त्रालयअन्तर्गत् विपद् तथा द्वन्द्व व्यबस्थापन महाशाखाका गरी सात वटा प्रस्तुतिकरण भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा दिनभर प्रस्तुतिकरण र अपराह्न खुला सत्रमा छलफल, अनुभव आदानप्रदान लगायत भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

औपचारिक उद्घाटन गृहमन्त्रीबाट
दुई दिन चल्ने सुरक्षा गोष्ठीमा बुधबार गृहमन्त्री रामबहादुर थापा, प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, गृह सचिव प्रेमकुमार राई, प्रदेश प्रमुख सचिव आनन्दराज ढकाललगायतको सहभागिता हुनेछ । औपचारिक कार्यक्रम उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्ने बताइएको छ ।

प्रदेशका सबै सुरक्षा समिति सहभागी
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपद प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख तथा सेनाका जिल्लास्तरका प्रमुख गरी ६५ जनाको सहभागिता छ । संघीय सुरक्षा निकाय प्रमुख, प्रदेशस्तरका सुरक्षा निकाय प्रमुखको कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ तामाङले बताउनुभयो ।

प्रस्तुतिकरणमा प्रदेशका गृहमन्त्रीलाई बोलाइएन
सुरक्षा गोष्ठी चलिरहँदा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई बोलाइएन । नेपाल सरकारका सुरक्षा निकायका प्रमुखहरुले प्रदेशस्तरकोे सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्ने महत्वपूर्ण कार्यक्रममा सहभागी गराउनुको साटो उद्घाटनको औपचारिक कार्यक्रममा मात्र प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला मन्त्रीलाई बोलाइएको छ ।

बुधबारको कार्यक्रमबारे आफू जानकार नभएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले बताउनुभयो । प्रदेश–३ को समग्र सुरक्षा अबस्था, शान्तिसुरक्षामा देखिएका समस्या र चुनौती समाधानका लागि गर्नुपर्ने कामहरुबारे छलफल गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको हो । स्थानीय सरकार सञ्चालन भइरहेको अबस्थामा गरिएको गोष्ठीले सुरक्षा निकायलाई जिम्मेवारी वहन गर्न स्पष्ट दिशानिर्देश गर्ने बताइएको छ ।