भेरी–बबईको सुरुङ ‘ब्रेक थ्रु’

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्धारा निर्मित सुरुङको आज ‘बे्रक थु्रु’ भएको छ । ‘बे्रक थु्रु’ गर्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजना मार्फत् उत्पाकत्व बढाउने र उत्पादनमा वृद्धि गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले प्रदेश ५ र कर्णाली प्रदेशले सद्भाव, समझदारीको नमूना आयोजना कायम गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर प्रदेश, अन्तर स्थानीय तहबीच पारस्परिक सहयोग हुनु जरुरी छ ।’ अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलताका कारण तोकिएको समयभन्दा एक वर्ष अघि नै सुरुङ निर्माण सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभयो ।

असारभित्रै बाढीपीडितहरु पालबाट छानामुनि
प्रधानमन्त्री ओलीले ०७१ सालको बाढीबाट विस्थापित बनेका सुर्खेतका एक हजार ४५ घर परिवारलाई असार अगावै पालबाट छानामूनी ल्याउने वताउनुभएकोछ । प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्न निर्देशन दिनुहुँदै उहाँले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । प्रदेशले स्थानीय सरकारसंग समन्वय गरेर जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घी सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

चीनका बाटा प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्मका उत्तरी भागमा खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उहाँको भनाई थियो । ‘दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पु¥याउँछौं, चीन सरकारसंग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘अब नेपालमा गरिबी रहन दिँदैनौं, पछ्यौटेपन रहन दिँदैनौं, कोही पनि जनता भोकले मर्दैनन् ।’

प्रधानमन्त्री ओलीले कोही पनि बालबालिकाहरु विद्यालयबाहिर रहन नहुनेमा जोड दिनुभयो । ‘विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न पार्टी कार्यकर्ता, कर्मचारी, सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको युगमा निरक्षर बस्न हुँदैन् ।’

समारोहमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबईमा सुरुङ निर्माणको क्षेत्रमा ऐतिहासिक क्रान्ति भएको बताउनुभयो । भेरी बबईलाई प्रदेश ५ र कर्णालीबीचको एकता र सद्भावको आयोजना भन्दै उहाँले टनेल एक वर्ष अगावै निर्माण सम्पन्न हुँदा सरकारलाई हौसला मिलेको बताउनुभयो । मन्त्री पुनले यस्तो प्रविधि नेपालका अन्य आयोजनामासमेत प्रयोग गर्ने बताउनुभयो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी बबई डाइभर्सन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने बताउनुभयो । विद्युत आयोजना उपहारस्वरुप कर्णालीलाई दिन उहाँको आग्रह थियो । प्रभावित क्षेत्रका बासिन्दाहरुसंग लालपुर्जा नभएकाले तत्काल उक्त समस्या समाधान गर्नुपर्ने केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टनेल बोरिङ मेसिनले नव नेपाल निर्माणको लागि नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले यसलाई दुई प्रदेशबीच मितेरी आयोजनाको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा अमेरिकी राजदूत रेन्डी बेरी र चिनियाँ राजदूत हु याङ, कर्णाली सरकारका मन्त्रीहरु, प्रदेश सभामुख, संघीय सासंदहरु, प्रदेश उपसभामुख, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।