‘भेरीको पानी बबईमा बग्न दिँदैनौं’

0
Shares

नेपाल समाचारपत्र, बीरेन्द्रनगर
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुरुङमार्ग शिलान्यासका क्रममा तत्कालिन सरकारले गरेका प्रतिवद्धता पूरा नभए भेरीको पानी बबईमा खस्न नदिने चेतावनी दिनुभएको छ । महामन्त्री खड्काले भेरी नदी र स्रोत क्षेत्रमा खानेपानी, सिंचाई, विद्युतीकरण, सडकलगायतका जनताका आधारभूत आवश्यकता र पूर्वाधार निर्माण गर्ने विगतको सरकारको प्रतिबद्धता पूरा हुनुपर्ने बताउनुभयो ।

‘बबईमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुअघि चिप्लेमा सुरुङ आउने बेलासम्म जनतामा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो’, गुर्भाकोट नगरपालिकाको मेहलकुनामा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा महामन्त्री खड्काले भन्नुभयो– ‘ति प्रतिवद्धता वर्तमान सरकारले पूरा नगरेसम्म भेरीको पानी बबईमा खस्न दिँदैनौं ।’ उहाँले अर्बौ लगानीमा सुरुङमार्ग निर्माण गरेर बर्दिया र बाँकेका सुख्खा जमिन हराभरा बनाइँरहँदा भेरी नदी र स्रोत क्षेत्रका जनताा आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने बताउनुभयो ।

उनले भेरीको पानीले बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिन हराभरा हुँदा प्रभावित क्षेत्र र स्रोत क्षेत्रका जनताका जमिन बाँझै रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । ‘भेरीको पानी अर्बौ लगानीमा सुरुङमार्गमार्फत बबई खोलामा झारेर बर्दिया र बाँकेका सुख्खा जमिनलाई हराभरा बनाउने तयारी हुँदै गर्दा भेरी नदी वारी र पारी र स्रोत क्षेत्रका प्रभावित जनताका न्यूनत आवश्यकता पनि पूरा नहुने अवस्था देखियो’, कांग्रेस महामन्त्री खड्काले भन्नुभयो– ‘सिंचाई, बाटाघाटा, खानेपानी, सडक, विद्युत् उत्पादनको ५० प्रतिशत राजस्व प्रभावित क्षेत्रका जनताले पाउने कुराको ग्यारेन्टी नहुँदासम्म कुनै पनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा खसाल्न दिँदैनौं ।’