खोकनाको बाज पाटी पुनर्निर्माण हुने

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुर्निर्माण हुन लागेको हो । खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त पाटी पुनर्निर्माण गर्न बैंकले १० लाख रुपियाँ सहयोग गरेको हो ।

रुद्रायणी मन्दिरमा नित्यपूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने चलन थियो । २०७२ सालको भूकम्पले सो पाटी बस्न नमिल्ने गरि भत्कियो । पाटी भत्किएपछि भजन किर्तन गर्न बाधा पुगेको स्थानीयको गुनासो रहँदै आएको छ ।

ललितपुर महानगरपालिका २१ वडा र सनराइज बैंकले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सांसद पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षिक गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले पर्यटकलाई यहाँको सम्पदा र संस्कृति बुझाउन गाइडको व्यवस्था गनुपर्ने धारणा राख्नुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक महत्वको ठाउँ खोकना पर्यटकीय दृष्टिले धेरै सम्भावना बोकेको सहर भएको बताउनुभयो ।
खोकनाको पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको उहाँले प्रसंशा गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सुरु गरेको यो कामलाई निरन्तरता दिन पनि अनुरोध गर्नुभएको छ । महानगरले पछाडि जोडिन आएका वडाहरुलाई अन्य वडालाई भन्दा धेरै बजेट विनियोजन गरेको बताउनुभयो । अन्य वडा सरह पछि गाँभिएका वडाहरुमा विकास समान रुपमा होस् भन्ने अभिप्रायले बढी बजेट विनियोजन गरेको उनको जिकिर थियो ।

वडा अध्यक्ष रवीन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाहरुले खोकना धनी भएको बताउँदै भूकम्पले भत्काएका सम्पदाहरु पहिलेकै अवस्थामा पुर्निर्माण गर्नु चुनौतिपूर्ण भएको बताउनुभयो । पुनर्निर्माणमा सनराइज बैकले देखाएको चासोको प्रसंसा गर्दै यस्तो सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने उहाले बताउनुभयो ।

बैंकका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्रचार्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाटीको पनुर्निर्माणमा सहयोय गरेको बताउनुभयो । सम्पदा मुलुकको महत्वपूर्ण गहना भएको बताउँदै यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा उहाको जोड थियो । वडा सदस्य ज्ञानभक्त महर्जनले खोकनाका सम्पदालाई पुनर्निर्माण गरी पर्यटक आकर्षण गर्न सके त्यसबाट खोकनाको आर्थिक समृद्धि छिटै सम्भव हुने दाबी गर्नुभयो ।