आईसीसीको नयाँ वरियतामा एक स्थान उक्लियो नेपाल

0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा २–१ को जीत निकालेपछि नेपाल आईसीसीको वरियतामा पर्दै आएको छ ।

उक्त सिरिजपछि नेपालले एक दिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो । आईसीसीको एक दिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक पाएको छ ।

नेपाल भन्दा मुनि यूएई र नेदरल्याण्ड रहेका छन् । वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् ।