सर्वोच्चद्धारा वंशजका आधारमा नागरिकता दिन बाटाे खुल्ला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुल्ला गरिदिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले उक्त निर्णय सुनाएको हो ।

मंगलबार भएको छलफलमा सर्वोच्चले गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन सन्दर्भमा यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएको हो ।

गत चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकात दिन भन्दै ७७ वटै जिल्लामा गरेको परिपत्र कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएर दुवै पक्षलाई मंगलवार छलफलका लागि अदालतले बोलाएको थियो ।

यस अघि ७७ वटै जिल्लामा गृहले परिपत्र गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै गृहको परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आजको निर्णयपछि गृहको परिपत्र अनुसार जन्मसिद्धका सन्तानले पनि वंशजको नागरिकता पाउने बाटो खुला भएको जानकारी दिएको छ ।