पराम्परागत मेला संरक्षणमा युवा

0
Shares

दैलेख ।
डाडाँको टुप्पोमा मालिकामाईको मन्दिर । फेदमा समथर ठाउँ, फाटफुट खुद्रा पसलहरु । त्यहि रहेको विद्यालयका भवनले थप आकर्षक बनाएकै थियो । विद्यालयको खुला चौरमा बच्चा देखि बृद्धहरु आफ्नै सुरमा रमाइरहेका थिए । झट्ट हेर्दा यो दृष्य विगत १४ बर्ष अघिसम्म लाग्ने मेलाको झझल्को दिन्थ्यो । तत्कलिन समयमा नारायण नगरपालिका–५ धिताहा दैलेखको डाँडामा हरेक बर्ष चैते दशैको अघिल्लो दिन बृहत मेला लाग्थ्यो ।

यो दैलेख जिल्लाकै ठुलो, सभ्य र भव्य मेलाको रुपमा परिचित थियो । तत्कालिन द्धन्द्धयता उक्त मेला विस्थापित भयो । जिल्लाकै ऐतिहासीक महत्व बोकेको यो मेला द्धन्द्धयता गुमनाम जस्तै बनेको यहाँका स्थानीय बताएँछन् । हरेक चैते दशैको अघिल्लो दिन देखि लाग्ने मेला चैते दशैको दिन सकिन्थ्यो । टाढा टाढा देखि मेला भर्न आएकाहरु चैते दशैको दिनमा घर फर्कने परम्परा थियो । यहि ठाउँमा मालिकामाईको मन्दिर छ । मन्दिरमा पुजापाठको लागि भक्तजनहरु आउने गर्दथे । सोहि संस्कार र संस्कृति र कला हराउँदै गएपछि यहि डाडाँ रुखो र सुनसान बन्दै गयो ।

तर पछिल्लो समय संरक्षणको अभावमा लोप हुन लागेका मौलिक कला संस्कृतिले भरिपूर्ण मेला संरक्षणमा धिताहाका युवाहरु अघि सरेका छन् । लोप हुन लागेको संस्कार संस्कृति र परम्परालाई संरक्षण र सम्वद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले यस बर्षको चैते दशैको अबसर पारेर धिताहा मालिका सांस्कृतिक पर्यटन मेला सम्पन्न भएको छ । ‘कला संस्कृति संरक्षण ग्रामिण पर्यटन प्रर्बद्धन’ को नारा बोकेर गत चैत २९ देखि संचालन भएको मेला आइतवार सकिएको हो ।

यहाँका युवाहरुले संचालन गरेको सेती बराह मिडिया प्रालि दैलेखले विभिन्न निकायहरुको सहयोगमा मेला संचालन गरेको थियो । ‘यो गाउँ कला र संस्कृतिको खानी हो,’ अयोजक संस्था सेती बराह मिडिया प्रालिका अध्यक्ष खगेन्द्र सुनारले भन्नुभयो ‘तत्कालिन समयमा लाग्ने मेलाको निरन्तरतासँगै पर्यटकको आगमन बढाउन चाडपर्वको अबसरमा उपयुक्त समय रोजेर पर्यटन मेला संचालन गरेका हौ ।’

‘दैलेख जिल्ला आफैमा संस्कार संस्कृति र कलामा भरिपूर्ण छ, त्यसैले पनि यहि ठाउँका कला संस्कृति प्रर्दशन गर्नुपर्छ भनेर हामीले ‘मेला अवधीभर दैलेखका स्थानीय कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम र स्थानीय कलाकारहरुको प्रस्तुती राखेका हौ ।’ यो स्थान हवाई मैदानका लागि उपयुक्त स्थान भएको यहाँका नागरिक अगुवाहरु बताउँछन् ।

तीन दिनसम्म संचालन भएको मेला समापनमा कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले युवा वर्गले थालेको संस्कृति संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सोहि अबसरमा कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखाल, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल लगाएतले युवाहरुले थालेको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।