हलेसी बस दुर्घटनामा मृत्यु हुनेको सनाखत र घाइतेको विवरण खुल्यो

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको हलेसी मन्दिर नजिकै भएको बस दुर्घटनाका मृतकको सनाखत र घाइतेको परिचय खुलेको छ । काठमाडौँबाट दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस हलेसी मन्दिर नजिकै पर्ने रिठ्ठाबोटेबाट करिब ५० मिटर तल बस खस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७० वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईलाई उद्दार गरी जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

यसअघि प्रहरीले मृतक प्रजबहादुरको ठेगाना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा बताएको थियो । टिकट काउण्टरले चलानीमा मृतकको ठेगाना दोर्पाचिउरीडाँडा लेखेकाले गल्ती भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा खोटाङस्थित बराहपोखरी गाउँपालिका–१ का विष्णुकुमार राई, हलेसी तुवाचुङ नगपालिका–१० अर्खौलेका दुर्गाबहादुर मगर, उदयपुरका सुरेन्द्र राई, बस चालक भक्तपुरका टिकाराम खत्री, उमाकुण्ड गाउँपालिका–५ रामेछापका महादोर्जे लामा र उहाँकी श्रीमती लवकुमारी लामा गम्भीर रहेका छन् । उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार गर्न काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको छ ।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका ओजोनबाबु आचार्य, सोही नगरपालिका–३ बाम्राङका सुजन रम्तेल र आशिष राई, खोटाङकै साकेला गाउँपालिका–१ का भीमबहादुर बुढाथोकी, सोही स्थानका साजन कटुवाल, केपिलासगढी गाउँपालिका–१ का मैना राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका ओमन राई र कञ्चनरुपा नगरपालिका–११ सप्तरीका भुपेन्द्रप्रसाद चौधरी रहेका छन् । उनीहरुलाई स्वास्थ्य चौकी दुर्छिममा उपचार गर्दा ठीक नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

दुर्घटनामा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका पवन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाका युवराज श्रेष्ठको अवस्था भने सामान्य रहेको स्थानीय टिवन राईले जानकारी दिनुभयो । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताउनुभयो ।

बिपरित दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार तीन जना सवार मोटरसाइकल लडेपछि बस रोक्न खोज्दा ब्रेक नलागेर दुर्घटना भएको हो ।

कोटेश्वरबाट सोमबार दिउसो दुई बजे खोटाङका लागि छुटेको सुनकोसी सगरमाथा यातायात प्रा.लि.अन्तर्गत चल्ने बस ओखलढुङ्गाको हर्कपुरमा बेलुकीको खाना खाएर दिक्तेलतर्फ लागेको प्रहरीले जनाएको छ ।