भारतीय प्रहरीको धम्कीले नेपाली सीमाक्षेत्रका बासिन्दा त्रसित

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।
भारतीय प्रहरी खुलेआम नेपाल सिमावर्ती क्षेत्र भित्र आई नेपाली सीमावर्ती होटल व्यावसायीहरु संग हप्ताको २ हजार ५ सय रुपैयाँको माग गरि नदिएमा विभिन्न किसीमका मुद्धामा फसाईदिने धम्की दिएका छन् । सीमावर्ती क्षेत्रवासीहरुले उक्त रुपैयाँ दिन नमाने पछि १ जना सुरजपुर र २ जना आशापुर निवासी नापाली नागरिकलाई अनावश्यक पक्राउ गरी १ दिन थुनामा राखि सवै सीमावर्ती क्षेत्र वासीहरुलाई त्रसित बनाएका छन् ।

गुलरिया नगपालिका वडा नं. ८ सुरजपुर निवासी हिम बहादुर पुनले औषधी उपचारको क्रममा भारतबाट फर्किदै गर्दा १ पेटी तेल र २५ किलो चामल गुलरिया आउने पीकअप गाडीमा राखि पठाएको र सो सामान मुर्तिहा स्थित भारतीय प्रहरी सिपाही राहुल मिश्रले राखि सम्बन्धित व्यक्तिलाई पठाउन भने पछि निज पुन बैशाख २ गते मुर्तिहा स्थित कोतवाली प्रहरी चौकी जाँदा उनलाई पक्राउ गरी हिरासतमा राखी शारिरीक तथा मानसिक यातना दिँदै १ लाख रुपैयाँ नदिए लागु औषध र कटुवा बन्दुक सम्बन्धि मुद्धा लगाउने धम्की दिए ।

त्यस लगतै निज पुनले फोन मार्फत आफन्तलाई खबर गरे । गाउँबाट गएका मानिसहरुसँग बार्ता गरि भारतीय रु.३६ हजार तिरी भारतीय २ जनालाई साँछी राखेपछि पुनः बोलाउदा आउनुपर्ने सर्तमा छोडिदिए । निज पुनका अनुसार आफु लगायत आशापुर निवासी २ जनासँग पनि भारतीय ५० हजार असुली गरी छाडेका थिए ।

भारतीय प्रहरीहरु सिमावर्ती क्षेत्र सुरजपुरमा आई पटक पटक हिम बहादुर पुनको श्री पुन नास्ता पसल, पवित्र रानाको राना लेगपीस सेन्टर (नास्ता पसल) र वडा नं. ९ टेपरीका सित बहादुर चौधरीलाई सिमा क्षेत्रमा मदिरा पसल गर्दा भारतीय मान्छेहरु आउँछन्, तिमिहरुलाई फाइदा हुन्छ मदिरा पीएर उता जाँदा हामिलाई समस्या सिर्जना हुन्छ भन्दै प्रति हप्ता २ हजार ५ सय रुपैयाँ फिरौती दिनुपर्छ नत्र तिमिहरुलाई मुद्धामा फसाई दिन्छौ भनेर धम्काई रहेको थिए । राना र चौधरीलाई उनीहरुले पैसा दिन नमानेको भनी खोज तलास गरी रहेको कुरा गाउँलेहरुले बताए । साथै सो कुराको जानकारी सुरजपुर बासीहरुले स्थानीय प्रहरी चौकीमा जानकारी गराउँदा प्रहरीले उनीहरुलाई पैसा दिनु पर्दैन भनी सुझाव दिएका थिए ।

उक्त कुराको जानकारी मंगलबार गुलरिया नगरपालिकामा पीडितहरु ३ जना सहित गाउँलेहरुको प्रतिनिधी मण्डलले नगरप्रमुख मुक्तिनाथ यादवलाई भेट गरी सुरक्षाको माग गरे । नगरप्रमुख मुक्तिनाथ यादवले सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिँदै नडराएर बस्न सुझाव दिएका छन् ।

स्थानीय प्रहरी प्रशासनबाट भारतीय समकक्षीसँग बार्ता गरी गाउँलेहरुलाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने र दोषी भारतीय प्रहरीलाई कार्वाही गर्न पहल गर्नुपर्ने जरुरी रहेको छ ।