भेरी–बबईको सुरुङ ‘ब्रेक थ्रु’

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्धारा निर्मित सुरुङको आज ‘बे्रक थु्रु’ भएको छ । ‘बे्रक थु्रु’ गर्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजना मार्फत् उत्पाकत्व बढाउने र उत्पादनमा वृद्धि गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले प्रदेश ५ र कर्णाली प्रदेशले सद्भाव, समझदारीको नमूना आयोजना कायम गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर प्रदेश, अन्तर स्थानीय तहबीच पारस्परिक सहयोग हुनु जरुरी छ ।’

अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशिलताका कारण तोकिएको समयभन्दा एक वर्ष अघि नै सुरुङ निर्माण सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभयो ।

असार भित्रै बाढीपिडितहरु पालबाट छानामूनी
प्रधानमन्त्री ओलीले ०७१ सालको बाढीबाट विस्थापित बनेका सुर्खेतका एक हजार ४५ घर परिवारलाई असार अगावै पालबाट छानामूनी ल्याउने वताउनुभएकोछ । प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्न निर्देशन दिनुहुँदै उहाँले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । प्रदेशले स्थानीय सरकारसंग समन्वय गरेर जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घी सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

चीनका बाटा प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्मका उत्तरी भागमा खाद्यान्न आपूर्तिमा सहजता ल्याउने उहाँको भनाई थियो । ‘दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पु¥याउँछौं, चीन सरकारसंग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘अब नेपालमा गरिबी रहन दिँदैनौं, पछ्यौटेपन रहन दिँदैनौं, कोही पनि जनता भोकले मर्दैनन् ।’

प्रधानमन्त्री ओलीले कोही पनि बालबालिकाहरु विद्यालयबाहिर रहन नहुनेमा जोड दिनुभयो । ‘विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न पार्टी कार्यकर्ता, कर्मचारी, सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको युगमा निरक्षर बस्न हुँदैन् ।’
समारोहमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भेरी बबईमा सुरुङ निर्माणको क्षेत्रमा ऐतिहासिक क्रान्ति भएको बताउनुभयो । भेरी बबईलाई प्रदेश ५ र कर्णालीबीचको एकता र सद्भावको आयोजना भन्दै उहाँले टनेल एक वर्ष अगावै निर्माण सम्पन्न हुँदा सरकारलाई हौसला मिलेको बताउनुभयो । मन्त्री पुनले यस्तो प्रविधि नेपालका अन्य आयोजनामासमेत प्रयोग गर्ने बताउनुभयो ।

यसवाट उत्पादित ४८ मेगावाट विद्युतलाई ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गत समावेश गरिएको जानकारी दिनुभयो । ‘कम्पनी निर्माण गरेर प्रदेश सरकार, स्थानीय सरकार र दुवै प्रदेशका जनताको ४९ प्रतिशत शेयरमा जलविद्युत आयोजना अघि बढाइनेछ’ उहाँले भन्नुभयो, ‘आयोजनालाई प्रभावित हुन नदिन छिटो विद्युत उत्पादन गरी टनेल सदुपयोग गर्न ८÷१० क्युसेक पानी बबईमा मिसाउनेबारे छलफल गदैछौं ।’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी बबई डाइभर्सन आयोजनाबाट कर्णाली प्रदेशले बढी लाभ पाउनुपर्ने बताउनुभयो । विद्युत आयोजना उपहारस्वरुप कर्णालीलाई दिन उहाँको आग्रह थियो । ‘आयोजनाबाट बाँके र बर्दियाका जनताको भकारी भरिने तर, कर्णालीका जनताले भोकमरी भोग्नुपर्ने अवस्था आउनुहुँदैन, उहाँले भन्नुभयो, ‘आयोजना प्रभावित क्षेत्रका जनताको आर्थिक अवस्था सुधार ल्याउन कार्यक्रम आवश्यक छ ।’ प्रभावित क्षेत्रका बासिन्दाहरुसंग लालपुर्जा नभएकाले तत्काल उक्त समस्या समाधान गर्नुपर्ने केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टनेल बोरिङ मेसिनले नव नेपाल निर्माणको लागि नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले यसलाई दुई प्रदेशबीच मितेरी आयोजनाको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा अमेरिकी राजदूत रेन्डी बेरी र चिनियाँ राजदूत हु याङ (ज्यग थ्बलत्रष्, कर्णाली सरकारका मन्त्रीहरु, प्रदेश सभामुख, संघीय सासंदहरु, प्रदेश उपसभामुख, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

चिनियाँ निर्माण कम्पनी कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) र परामर्शदाता कम्पनी जियोडाटा इन्जििनियरिंग एसपीए इटाली र सिडेक नेपालका प्रतिनिधिलाई प्रधानमन्त्री प्रशंसापत्र प्रदान गर्नुभएको थियो । २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको थियो । बबई नदीको किनार हात्तिखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेमा आइपुगेको मेसिन प्रधानमन्त्रीले बे्रक थु्र गर्नुभएको हो ।

सिंचाई विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदारहरु दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ ।

प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत् बबई नदीमा खसालेर विद्युत उत्पादन गर्ने र पाँच नम्बर प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो । विद्युत् उत्पादनदेखि सिंचाईका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक सञ्जीव बरालले खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार ब्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।

त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तिखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिंचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु. ४ अर्ब ३ करोड र बाह्रै महिना सिँचाई उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु. ३ अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

साढे १० अर्बमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिंचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सक्ने लक्ष्य छ ।